आयल निगममा ट्यांकर व्यवसायीको धर्ना

आयल निगममा ट्यांकर व्यवसायीको धर्ना

केन्द्रबिन्दु
0
Shares

काठमाडौ

नेपाल आयल निगमले किन्न स्वीकृति दिएका ट्यांकरलाई लोडिङ अनुमति नदिएको भन्दै एक दर्जन व्यवसायीले निगमको प्रधान कार्यालयमा धर्ना सुरु गरेका छन् । निगमकै स्वीकृतिमा गरेको लाखौं लगानी डुब्न लागेको उनीहरुको गुनासो छ । यथाशीघ्र पेट्रोलियम पदार्थ ढुवानी अनुमति दिन माग गर्दै उनीहरुले बिहीबार विहानैदेखि धर्ना सुरु गरेका हुन् ।

ढुवानी अनुमति नपाएसम्म धर्ना जारी रहने व्यवसायीको भनाइ छ । निगमका कारण आफूहरुको उठिबास हुन लागेकोले अनुमतिको लागि दबाब दिन धर्ना सुरु गरेको ट्यांकर व्यवसायी आशिष पौडेलले बताए । निगम अधिकारीहरुले संसदीय समितिले निर्देशनलाई अवज्ञा गरी ढिलासुस्ती गरिरहेकोले दबाब दिनुपरेको उनको भनाइ छ ।

नेपाल आयल निगमले २०७४ जेठमा १६ जना व्यवसायीलाई पेट्रोलियम पदार्थ ढुवानी गर्ने नयाँ ट्यांकर किन्न स्वीकृति दिएको थियो । एउटा ट्यांकर तयार गर्ने स्वीकृतिबापत ३५ हजार रुपैयाँका दरले बुझाएका व्यवसायीले त्यस लगत्तै चेचिस मगाएर सोही वर्ष असार र साउनमा ट्यांकर तयार पारे । निगमले स्वीकृति दिएपछि १६ जना व्यवसायीले १४ करोड रुपैयाँ हाराहारी लगानी गरेर २२ वटा ट्यांकर किनेका थिए ।

निगमले लोडिङ अनुमति नदिँदा ६० लाख रुपैयाँ खर्चेर तयार पारेको ट्यांकर थन्किएर बसेको व्यवसायीको गुनासो छ । निगमले अनुमति नदिएका कारण ट्यांकर चलाएर आम्दानी गर्न नपाउँदा लगानी डुब्ने अवस्था आएको व्यवसायी बताउँछन् । ‘बैंकबाट कर्जा लिएर ट्यांकरमा लगानी गरेका थियौं, अहिले ट्यांकर, घर, जग्गा लिलाम हुने अवस्था आयो,’ अर्का व्यवसायी पवित्रा खनालले बताइन् ।
नागरिकबाट

Logo