काठमाडौ
सहरी विकास मन्त्रालयले १ अर्ब ३४ करोड लागतमा स्यानिटेसन ल्यान्डफिल्ड साइट निर्माण गर्ने भएको छ । धादिङ र नुवाकोटको सीमामा रहेको बन्चरेडाँडाको एक हजार सात सय रोपनी क्षेत्रफलमा साइट निर्माण गरिनेछ ।
नुवाकोटको सिसडोलमा रहेको फोहोरमैला व्यवस्थापन केन्द्र भरिएपछि सरकारले नयाँ विकल्प खोज्न गतवर्ष सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो । सोहीअनुसार मन्त्रालयले बन्चरेडाँडामा साइट निर्माणको तयारी गरेको हो । अबको दुई महिनापछि बन्चरेडाँडामा निर्माणाधीन साइटमा फोहोर फाल्न सकिने सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बताए । ‘जेठ महिनापछि फोहोर फाल्ने गरी निर्माण गर्छौँ,’ बिहीबार केन्द्रको शिलान्यास गर्दै उनले भने ।
व्यवस्थापन केन्द्रको दोस्रो आयोजनामा ड्याम निर्माण गरिनेछ । एक साताभित्रमा ड्याम निर्माणको सम्झौता पनि हुने मन्त्रालयले बताएको छ । करिब एक करोडको लागत अनुमान गरिएको ड्याम ३० मिटर अग्लो हुनेछ । तर तत्काल भने १५ मिटरको मात्रै बनाइने केन्द्रका परामर्शदाता इन्जिनियर सरोज कायस्थले बताए । उनका अनुसार १८ मिटरसम्ममा फोहोर फाल्न सकिनेछ । सहरी विकास मन्त्रालयले बन्चरेडाँडामा निर्माण गर्न लागेको स्यानिटेसन ल्यान्डफिल्ड साइटको क्षमता अवधि अधिकतम ५० वर्षसम्मको हुनेछ ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया