काठमाडौ
लामखुट्टेको टोकाइबाट सर्ने औलो रोग तराई हुँदै हिमाली जिल्लामा समेत देखिन थालेको छ ।
नेपालले सन् २०२५ सम्म औलो रोग निवारण गर्ने लक्ष्य लिए पनि हिमाली जिल्लामा फैलिएको औलो र भारत लगायत मुलुकबाट कामदारले ल्याएको आयातित औलोका कारण सो रोग निवारणमा कठिनाइ देखिएको हो । लक्ष्य अनुसार पाँच वर्षअघि नै औलोबाट मृत्यु हुनेको संख्या शून्यमा झार्नु पर्ने थियो तर बर्सेनि यो रोगबाट मानिसको मृत्यु भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गतवर्ष मात्रै एक हजार १८७ जना व्यक्तिलाई औलो लागेको प्रमाणित भएको थियो । विगत वर्षभन्दा यो सङ्ख्या धेरै हो । आर्थिक वर्ष २०७३/०७४ मा एक हजार १२८ जनामा औलो रोग लागेको थियो । आ.व. २०७२/०७३ मा ९९१ जना व्यक्ति औलो रोगको चपेटामा थिए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले सन् २०२५ सम्ममा औलो रोग निवारण गर्न कठिनाई भएको बताउनुभयो । उहाँले औलो सार्ने लामखुट्टे तराईबाट पहाड हुँदै हिमालमा समेत देखा परेकाले कठिनाई उत्पन्न भएको बताउनुभयो ।
उहाँले औलो निवारणका लागि सरकारले औलो खोजपड्ताललाई चुस्त दुरुस्त पारी औलो सर्ने दरलाई घटाउनुपर्ने भन्दै औलोको गुणस्तरीय निदान र प्रभावकारी उपचारमा समेत पहुँच बढाउनुपर्ने बताउनुभयो ।
पछिल्लो समय हिमाली जिल्ला मुगु, मुस्ताङ, बाजुरा, हुम्ला लगायत जिल्लामा औलो रोग फैलिएको छ । डा। लालले भन्नुभयो, “हिमाली जिल्लामा अत्यन्त पातलो बस्ती हुने भएकाले लामखुट्टे नियन्त्रणमा कठिनाइ भएको छ ।”
गोरखापत्रबाट































प्रतिक्रिया