चोभारमा सुक्खा बन्दरगाह निर्माण तीव्र

चोभारमा सुक्खा बन्दरगाह निर्माण तीव्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आयात र निर्यात व्यापार सहज बनाउने उद्देश्यले काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह निर्माणले गति लिएको छ । जग्गा अधिग्रहण लगायतका समस्या समाधानसँगै बन्दरगाह (काठमाडौं कन्टेनर फ्रेट स्टेसन) को निर्माण कार्यले गति लिएको सो आयोजनाले जनाएको छ । सुक्खा बन्दरगाह निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको जानकारी गराउँदै आयोजना प्रमुख युवक डङ्गोलले सन् २०२१ अप्रिलसम्म निर्माण सम्पन्न भई काठमाडौंमा सुक्खा बन्दरगाह सञ्चालनमा आइसक्ने बताए ।

उनका अनुसार अहिले बन्दरगाहको निर्माण कार्य धमाधम भइरहेको छ । कुल एक अर्ब ६६ करोड रुपियाँको लागतमा निर्माण भइरहेको सो बन्दरगाहको अहिलेसम्म भौतिक प्रगति ६० प्रतिशत रहेको छ ।

विश्व बैङ्कको ऋण सहयोगमा यो बन्दरगाह निर्माण भइरहेको हो । सन् २०१० देखि नै यो सुक्खा बन्दरगाह बनाउने सरकारी प्रयास भए पनि जग्गा अधिग्रहण, कानुनी झन्झट तथा स्थानीयवासीको अवरोधका कारण केही समय ढिलो भएको हो । अवरोध, कोरोना महामारीले भएको बन्दाबन्दीका कारण निर्माण सम्पन्न गर्ने म्याद छ/छ महिना गरी दुईपटक थप गर्नुपरेको उनले बताए । यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोड्ने योजना सरकारको छ ।

मुलुकको व्यापार प्रवर्धन गर्न अहिले ‘लजेस्टिक’ व्यवस्थापन समस्या रहेकाले समाधान गर्न चोभारको सुक्खा बन्दरगाहलाई सरकारले उच्च प्राथमिकतामा राखी निर्माण कार्य तीव्र पारेको उनले बताए। स्थानीयवासीको सहयोग र समर्थनमा नै बन्दरगाह निर्माण कार्य तीव्र बनाइएको उनले स्पष्ट पारे । अब स्थानीय नागरिकबाट कुनै किसिमको अवरोध वा गुनासो नरहेको उनले बताए ।

बन्दरगाह संरचनाको निर्माण कार्य सम्पन्न भई ‘फिनिसिङ’ को काम भइरहेको आयोजना प्रमुख डङ्गोलले जानकारी दिए । अहिले प्रशासनिक भवन निर्माण, घेराबारा गर्ने काम सम्पन्न भइसकेको छ । त्यसैगरी बन्दरगाहको मुख्य कामको रूपमा रहेको ‘बेस’ र भवन निर्माण, भण्डारण गरिने भवन, बन्दरगाहको भन्सार भवनको निर्माण सम्पन्न भइसकेको छ ।

उनका अनुसार अहिले ट्रक लगायतका सवारी साधनको पार्किङ निर्माण कार्य भइरहेको छ । बन्दरगाहको निर्माण कार्य ‘इन्टरनेसनल कन्ट्रयाक्ट बिडिङ (आईसीबी)’ र ‘नेसनल कन्ट्रयाक्ट बिडिङ (एनसीबी)’ बाट भइरहेको छ । ‘आईसीबी’ अन्तर्गत चिनियाँ निर्माण कम्पनी चाङ्ची आरसी (जेभी) ले र ‘एनसीबी’ अन्तर्गत लुम्बिनी न्यौपाने बिल्डर्स (जेभी) ले निर्माणको जिम्मा पाएका छन् । सुक्खा बन्दरगाह सञ्चालनले भन्सार प्रक्रिया सहज बनाउनुका साथै ‘क्वारेन्टाइन’ जाँच गर्न एकै ठाउँबाट सेवा उपलब्ध हुनेछ । यसले व्यापार लागत कम हुन्छ भने व्यापार प्रक्रिया सहज बनाउने छ ।गाेरखापत्रबाट

Skip This
Skip This
Logo