काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तनको असर न्यून गर्दै त्यसका उपाय पालना गर्न सधैँ प्रतिबद्ध रहेको बताएका छन् । त्यसका लागि हरित यात्रामा एकसाथ अगाडि बढ्न नेपालले सबै मुलुकको साथ अपेक्षा गरेको औँल्याउँदै भने, “हामी जलवायु उत्थानशील विकासको प्रवर्धन गर्न प्रतिबद्ध छाैं र कार्बन–शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील छौं ।”
जलवायु सम्मेलनलाई सम्बोधन गर्दै हरित वृद्धि र हरित पुनरुत्थान प्रवर्धन गर्न नेपालले सफा तथा नवीकरणीय ऊर्जा उत्पादनलाई प्राथमिकता दिएको बताए । विद्युतीय परिवहन, न्यून कार्बन पूर्वाधार र पर्या–पर्यटनको प्रवर्धनमा जोड दिएकाे अनुभव साटे । यस्ताे छ सम्बाेधनकाे पूर्णपाठ
जलवायु महत्वाकांक्षा सम्मेलनमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले गरेको सम्बोधन
१२ डिसेम्बर २०२०
महामहिमज्यूहरु,
विशिष्ट महानुभावहरु, ।
यस सम्मेलनकाे आयोजना गर्नुभएकोमा म चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्य र संयुक्त राष्ट्र संघको नेतृत्वको सराहना गर्दछु ।
कोभिड–१९ ले हामीलाई कोप–२६ स्थगन गर्न बाध्य तुल्यायो । तथापि, सफा एवं हरित धरा निर्माण सम्बन्धी हाम्रा अभियान स्थगित हुन सक्दैनन्। नेपाल पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्ने आह्वानको दरिलो समर्थन गर्दछ ।
हामी जलवायु उत्थानशील विकासको प्रर्बद्धनका लागि प्रतिबद्ध छौं र कार्बन-शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील छौं । हरित बृद्धि र हरित पुनरुत्थान प्रर्बद्धनका लागि हामीले सफा तथा नवीकरणीय उर्जा उत्पादनलाई प्राथमिकता दिएका छौं, विद्युतीय परिवहन, न्यून कार्बन पूर्वाधार र पर्या-पर्यटनको प्रर्बद्धन गरेका छौं ।
हामीले सन् २०३० सम्ममा संरक्षित क्षेत्र विस्तार गरी २३ प्रतिशतबाट ३० प्रतिशत पुर्याउने र जैविक विविधताको जर्गेना गर्ने लक्ष्य लिएका छौं । विश्वव्यापी तापक्रम बृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय संन्तुलन कायम राख्न हिमालयको महिमा बोध गर्नका लागि म विश्वलाई आग्रह गर्दछु ।
नेपालले यस वर्षको अन्त्यसम्ममा परिस्कृत एनडीसी प्रस्तुत गर्नेछ र सन् २०५० भित्र शून्य:प्राय कार्बन उत्सर्जनको परिदृश्यमा पुग्न महत्वाकांक्षी दीर्घकालीन रणनीति तर्जुमा गर्नेछ । हामी सन् २०२१ सम्ममा राष्ट्रिय अनुकूलन योजना एवं तदनुकूल जलवायु वित्त रणनीति र मागचित्र निर्माण गर्दैछौं ।
सन् २०३० सम्ममा हामी सबै ७५३ वटै स्थानीय तहमा जलवायु उत्थानशील अनुकूलन योजना लागू गर्नेछौं । यी महत्वाकांक्षाहरु लागू गर्नका लागि हामीलाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक हुन्छ । हरित यात्रामा एकसाथ अघि बढ्न हामीले सबै मुलुकहरुको साथ अपेक्षा गर्दछौं । धन्यवाद ।































प्रतिक्रिया