काठमाडौं। काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न समुदायको सचेतना बढाउने अभियान थालेको छ। असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन्।
रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन्। उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ। यसकारण पानी जम्न दिनु हुँदैन। यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन्। अभियानमा यस सम्बन्धी सचेतना बढाउने गरिएको छ।
कार्यक्रमका फोकल पर्सन ऋषि भुषालका अनुसार यस अभियानमा ६४ जना स्वास्थ्यकर्मी र सबै (५५८ जना) महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ।
सडकमा पानी जमेका खाल्टा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानमा क्रममा भइरहेका हुन्। रोगको लक्षण देखिएका बिरामीहरूको परीक्षण, औषधोपचारका लागि स्वास्थ्य प्रवर्धन केन्द्रमा व्यवस्था मिलाइएको भुषालले जानकारी दिए।
आकाशे पानी पर्ने मौसम सुरु भएको छ। यसरी परेको पानी सडक र सडक किनाराका खाल्टाखुल्टीमा जम्मा हुन्छ। यस्तै पानीमा लामुखट्टेको संख्या वृद्धि हुन्छ। लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकतामा राखिएको छ।































प्रतिक्रिया