सन्धिखर्क
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ डिभर्ना धारामाथि निवासी गीता भुसालको घरमा दुईवटा मात्र माउ बाख्रा छन् । तिनका पाठापाठी बेचेर वार्षिक तीन लाख आम्दानी गर्न उनी सफल भएकी छन् ।
दुई वर्षको अवधिमा दुई मात्र बाख्रा पालेकी भुसालले बोका र पाठी बिक्रीबाटै पौने चार लाख कमाउन सफल भएकी हुन् । अहिले झन्डै २ लाखका पाठापाठी बिक्रीका लागि तयार छन् । यो आम्दानी अन्य व्यवसायबाट प्राप्त गर्न कठिन परिश्रम गर्नुपर्छ । ‘धेरैवटा पाल्नु पनि पर्दैन रहेछ, दुःख पनि छैन दुईटाको स्याहार गर्न’, उनले भनिन्, ‘यिनैबाट पौने चार लाख कमाएँ । पाठापाठी तयार छन् । अब २/४ दिनमै बेच्नेछु । भुसाल मात्र हैन, डिभर्नाका कृषकले बोयर जातका बोकाको बिक्रीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।
डिभर्नाका कृषकले बोयर जातका बोकाको क्रस गरेर जन्माएका बोकाको बिक्रीबाट मात्रै डेढ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको समूहका अध्यक्ष गोपाल बस्यालले बताए । उनकोमा रहेको एउटा बोको १६५ केजीको छ । उक्त बोको हेर्न आउने र बोकोसँग फोटा खिच्नेको पनि भीड बढेको छ । किसानका लागि उन्नत बीउबिजन कार्यक्रम अन्तर्गत डिर्भनामा १५ वटा बोयर जातको बोका वितरण गरिएको हो । गाउँका १ सय ५३ घरधुरी संलग्न रहेको समूहले अहिले १५ सय बाख्रापालन गर्दै आएका छन् । बोयर जातका बोका बाख्रामा लगाएर उत्पादनमा तेब्बर वृद्धि भएको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया