काठमाडौं
जनताको जलविद्युत अन्तर्गत शुक्रबार दुईवटा कम्पनीको प्रथमिक सेयर (आईपीओ) निष्कासन भएको छ । सान्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीका कुल १ करोड ५७ लाख ३८ हजार १५० कित्ता सेयर जारी भएका छन् । जसमध्ये सान्जेनको ५४ लाख ७५ हजार कित्ता र रसुवागढी हाइड्रोपावरको १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निष्कासन भएको हो ।
सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको सेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सुरु गरेको जनताको जलविद्युत् कार्यक्रममा सरकारमा रहेका प्रमुखहरूको सहभागिता उत्साहपूर्ण भएको देखिएको छ । जनताको जलविद्युत् कार्यक्रमको दोस्रो चरणमा शुक्रबार जारी गरिएको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको साधारण सेयर सभामुख कृष्णबहादुर महराले खरिद गरेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रमबीच सभामुख महराले जनताको जलविद्युत् कार्यक्रममा सहभागी भई साधारण सेयर खरिद गरेका हुन् । सभामुख महराले सान्जेन जलविद्युत् कम्पनीको ५० हजार रुपैयाँ बराबरको ५ सय कित्ता र रसुवागढी जलविद्युत् कम्पनीको १ लाख रुपैयाँ बराबरको १ हजार कित्ता साधारण सेयर खरिदका लागि आवेदन दिएका छन् ।
उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई यो असाध्यै राम्रो कार्यक्रम सुरु गरे, सबै नेपाली नागरिकलाई कसरी सहभागी गराउन सकिन्छ भन्नेबारे उपयुक्त विधि र विकल्प पनि खोज्नुपर्दछ भन्दै सुझावसमेत दिएका छन् । यस्तै सभामुख महराका धर्मपत्नी सीता महराले पनि सान्जेनको ५० हजार रुपैयाँ बराबरको ५ सय कित्ता र रसुवागढीको लाख रुपैयाँ बराबरको हजार कित्ता सेयरमा आवेदन दिएकी छन् ।
सान्जेनले जारी गरेको आईपीओ मध्ये ४ प्रतिशत (२ लाख १९ हजार कित्ता) कम्पनीका कर्मचारी र ५५ (२ लाख ७३ हजार ७५० कित्ता) म्युचुअल फन्डलाई छुट्याइएर बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यता, रसुवागढी हाइड्रोपावरले निष्कासन गरेको सेयरमध्ये ४ प्रतिशत (४ लाख १० हजार ५२६ कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (५ लाख १३ हजार १५७ कित्ता) म्युचुअल फन्डलाई छुट्याइएर बाँकी रहेको ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको छ ।
राजधानीबाट































प्रतिक्रिया