बर्खाका कारण रोकियो ग्वार्को फ्लाइ ओभरको काम, कार्तिक अगावै निर्माण सक्ने लक्ष्य

बर्खाका कारण रोकियो ग्वार्को फ्लाइ ओभरको काम, कार्तिक अगावै निर्माण सक्ने लक्ष्य

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । ग्वार्को चोकमा निर्माणाधीन फ्लाइ ओभरको काम यति बेला रोकिएको छ । बर्खाले काममा बाधा पुर्याएसँगै उक्त फ्लाइ ओभरको काम रोकिएको हो ।

गुणस्तर अनुसन्धान विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) राकेश महर्जनले बर्खाले गर्दा सडकको छेउछेउमा कम्प्याक्सन गर्न नमिल्ने भएपछि काम रोकिएको बताए । ‘सडक दायाँबायाँ २०/२० सेन्टिमिटर लेयर भएको ग्रावेल गर्दै जानुपर्छ, उक्त ग्रावेल नसुकेसम्म कम्प्याक्सन गर्न नमिल्ने भएकाले फ्लाइ ओभरको काम अहिले रोकिएको छ,’ उनले भने ।

महर्जनका अनुसार उक्त कम्प्याक्सनको काम २० प्रतिशत बाँकी रहेको छ । त्यो वाहेक अन्य कामहरूले अहिले पनि तीव्र गतिमा भइरहेको उनको भनाइ छ । ग्वार्को फ्लाइ ओभरको भौतिक प्रगति ७७ प्रतिशत पुगेको पनि महर्जनले जानकारी दिए ।

सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जिम्मा लिएर अगाडि बढाइरहेको उक्त आयोजना आरसी–समानान्तर–रेलिगेर जेभीसँग ठेक्का सम्झौता भएपश्चात् फ्लाइ ओभरको काम अगाडि बढेको थियो । उक्त निर्माण कम्पनीले असारभित्र सक्ने लक्ष्य लिए तापनि यो असारभित्र काम नसकिने भएको बताइएको छ ।

‘हामीले यसको जेठदेखि नै राम्रोसँग काम गर्न पाएनौं, असारभित्रै ओभरको काम सक्ने निर्माण कम्पनीले लक्ष्य राखेर काम गरेको थियो, तर बर्खाले केही समय लम्ब्याइएको छ,’ उनले भने ।

अब भने फ्लाई ओभरको काम कार्तिक अगावै सक्ने लक्ष्य निर्माण कम्पनीको रहेको बताए । उनका अनुसार बढीमा एक महिनाको बाँकी रहेको छ ।

ठेकेदार कम्पनीसँग फ्लाइ ओभर निर्माणका लागि १७ करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो । जसमध्ये अहिलेसम्म ५० प्रतिशत आर्थिक प्रगति भइसकेको महर्जनले जानकारी दिए । ठेकेदार कम्पनीसँग दुई वर्षभित्र सक्ने लक्ष्यसहित २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो । तर, फ्लाइ ओभरको डिजाइन परिवर्तन गर्नुपर्ने भएकाले डिजाइन परिवर्तन गरेर काम सुरु गर्दा केही समय ढिलाई भएको थियो ।

एमएसी वालको प्रयोग गरी ६ मिटरको पिल्लर निर्माण गरेर उचाइको फ्लाइ ओभर तयार हुनेछ । नेपालको पहिलो यो फ्लाइ ओभरको लम्बाइ कुल चार सय ९० मिटर हुनेछ भने केन्द्रले इपीसी मोडेलमा ठेक्का लगाएको हो ।

फ्लाइओभर बालकुमारीतर्फबाट दुई सय ८० मिटर लामो –याम र सातोबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको –याम निर्माण गरिँदै छ भने यसको उचाइ ६ मिटरको हुनेछ । रिङरोडको जाम हटाउने उद्देश्यसहित बनाइएको फ्लाई ओभर आठ लेनमध्ये चार लेनलाई उठाएर रिङरोडमा फ्लाइ ओभर निर्माण गरिने छ ।

फ्लाइ ओभरको काम गत मंसिरदेखि सुरू भएको हो । फ्लाइ ओभर बनाउन थालेपछि उक्त क्षेत्रमा सवारी जाम बढ्दै गएको देखिन्छ । तर, ट्राफिक समस्या समाधान गर्दै यातायातलाई सहज आवतजावतको पहुँच मिलाई सहज रुपमा फ्लाई ओभरको काम तीव्र गतिमा भइरहेको महर्जनले जानकारी दिए ।

Logo