काठमाडौँ
रोजगारीका लागि विदेश जानेको सङ्ख्या घटे पनि नेपालले प्राप्त गर्ने रेमिटेन्समा भने उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको चालु आव पहिलो आठ महिनाको आर्थिक तथा वित्तीय अवस्था अनुसार चालु आर्थिक वर्षको आठ महिनामा नेपालले पाँच खर्ब ८२ अर्ब रुपियाँ रेमिटेन्सबापत प्राप्त गरेको छ ।
यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.४ प्रतिशतले बढी हो तर अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या आठ महिनाको अवधिमा भने ३८.३ प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ । नेपालीको प्रमुख श्रम बजार मध्येको मलेसियाका लागि लामो समयदेखि भिसा प्रक्रिया रोकिँदा त्यहाँ जाने नेपालीको सङ्ख्या बढ्न सकेको थिएन । यद्यपि पुनः श्रम स्वीकृतिका आधारमा विदेशिनेको सङ्ख्या भने ४.६ प्रतिशतले बढेको उल्लेख छ ।
व्यापार घाटा झन् फराकिलो
आठ महिनाको अवधिमा नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा झन् फराकिलो बन्दै गएको छ । तथ्याङ्क अनुसार यस्तो घाटा २४.५ प्रतिशतले बढेर आठ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । यसबीचमा नेपालबाट कुल वस्तु निर्यात १४.६ प्रतिशतले बढेर ६१ अर्ब २२ करोड पुगेको छ । आयात २३.८ प्रतिशतले बढेर नौ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । पेट्रोलियम पदार्थसहित तयारी पोसाक, बिलेट, विद्युतीय सामग्री सबैभन्दा धेरै आयात भएका वस्तुमा परेका छन् । पोलिस्टार यार्न, जस्तापाता, जुटका सामान धेरै निर्यात भएका वस्तुमा परेको राष्ट्र बैङ्कले जनाएको छ ।
गोरखापत्रबाट































प्रतिक्रिया