बैतडी । सुदूरपश्चिममा साउनलाई बत्ती बाल्ने महिनाका रुपमा मनाइन्छ । यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ पनि भनिन्छ । साउने सङ्क्रान्तिदेखि नै यहाँका मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको जानकार जयानन्द भट्टले बताए ।
साउनमा देवीदेवता बैकुण्ठमा शयन गर्ने विश्वासले यस महिनालाई कालो महिना भन्ने गरिन्छ । भट्टले भने, “साउनमा सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने विश्वास गरिन्छ, हरिशयनी एकादशीदेखि साउनसम्म भगवान् बैकुण्ठमा बस्ने गर्छन् ।”
भगवान् शयन गरेका बेला बत्ती बाल्दा रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास छ । आजदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाइ गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप नष्ट हुने धार्मिक विश्वास रहिआएको छ ।
बैतडीमा सातबैनी भगवती र सातभाइ केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी आउने गरेको दशरथचन्द नगरपालिका–२ का दीपेन्द्र बोहराले बताए ।
जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार, सिगास, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ, ईश्वरी गङ्गाधाम, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिर, शिवनाथमा रहेको शिवनाथ मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, देउलेक केदार, भिटाकेदार मन्दिरमा साउनभर दर्शनार्थीहरुले दर्शन गर्न गर्दछन् ।
राति जाग्राम बस्ने र बत्ती बाल्ने चलन पनि छ । जिल्ला बाहिर रहनेहरु पनि यस महिना पूजापाठका लागि जिल्ला भित्रिने गर्दछन् ।































प्रतिक्रिया