काठमाडौँ
प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा संस्कार शून्य रहेको टिप्पणी गरेको छ । केन्द्रीय कार्यालय सानेपामा सोमबार भएको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ‘प्रमको अभिव्यक्तिबाट जोगिन टेलिभिजन बन्द गर्नुपर्ने स्थिति आएको’ दावी गरे ।
‘कुनै पनि देशको प्रधानमन्त्रीको सफलता बोल्नुमा हुन्छ कि काम गर्नुमा ? वर्ष ०७५ ले छलफल गर्नैपर्ने प्रश्न छाडेर गएको छ ’, पत्रकार सम्मेलनपछि प्रवक्ता शर्माद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘इतिहासमा बोली होइन कर्म लेखिन्छ भन्ने तथ्य प्रधानमन्त्रीज्यूलाई पुनः सम्झाउनै पर्ने भएको छ ।‘
नयाँ वर्षको अवसरमा कांग्रेसले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेको थियो । प्रधानमन्त्रीका अभिव्यक्तिमा पदीय उचाई अनुरुपको गरिमा नभएको कांग्रेसको ठहर छ । प्रधानमन्त्रीका ‘कतिपय अभिव्यक्तिको नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन टेलिभिजन बन्द गर्नुपर्ने स्थिति आएको’ कांग्रेसको दावी छ ।
‘जिम्मेवार प्रधानमन्त्रीका अभिव्यक्तिहरूमा पदीय उचाई अनुरुपको गरिमा हुन के जरुरी छैन ?’, कांग्रेसको प्रश्न छ, ‘टेलिभिजनमा प्रधानमन्त्री बोल्न थालेपछि मनोरञ्जन प्राप्त गर्दा सम्म त ठिकै हो अन्यथा उहाँका कतिपय अभिव्यक्तिको नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन टेलिभिजन बन्द गर्नु पर्ने स्थिति आउनु अत्यन्त दुःखद छ ।‘
प्रधानमन्त्रीले कहिले विपक्षीमाथि अरिंगाल भई जाइलाग्न तथा कहिले वुद्धिजीवीहरुलाई थला पार्ने चेतावनी दिएको स्मरण गराउँदै कांग्रेसले ‘संस्कारको पनि नेतृत्व गर्न’ प्रधानमन्त्रीलाई सुझाव दिएको छ । ‘विपक्षी दलहरूलाई नन्दीभृङ्गीको संज्ञा दिनुभयो । प्रधानमन्त्रीका यस्ता आपत्तिजनक अभिव्यक्तिहरुको नेपाली कांग्रेस भत्र्सना गर्दछ’, प्रेस नोटमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यूलाई हेक्का रहोस्, देश सरकारको नेतृत्व गरेर मात्रै बन्दैन संस्कारको पनि नेतृत्व गर्न सक्नुपर्छ ।‘
अन्नपूर्णबाट































प्रतिक्रिया