दाङमा दिदी–भाइ डाक्टरले गरे आफ्नै आमाको शल्यक्रिया

दाङमा दिदी–भाइ डाक्टरले गरे आफ्नै आमाको शल्यक्रिया

केन्द्रबिन्दु
21
Shares

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भन्ने गर्छन् । सामान्य ज्वरो आउँदा पनि बिरामीहरू सकेसम्म काठमाडौँ उपचार गर्न जान खोज्छन् । बिरामी र बिरामीका आफन्तलाई यही अस्पतालमा राम्रो उपचार सम्भव छ भनेर विश्वास दिलाउन यहाँ कार्यरत डा प्रमिला गुप्ता र डा रोशन गुप्ताले आफ्नै आमाको सफल शल्यक्रिया गरेका छन् । डा. प्रमिला र रोशन दिदी–भाइ हुन् ।

“काठमाडौँ लगेर उपचार गर्ने हैसियत नभएको होइन्, हामीले हाम्रो ठाउँको अस्पताललाई विश्वास गर्न सकेनौँ”, डा प्रमिलाले भनिन्, “यहीँ गुणस्तरीय उपकरण छन्, चिकित्सक छौँ, त्यसैले ठूला उपचार हुन्छन्, भन्ने सन्देश दिन हामीले आमाको शल्यक्रिया यहीँ गरेका हौँ ।”

डा प्रमिला आफैँले आमाको शल्यक्रिया गरेका हुन् । डा रोशन सोही अस्पतालको एनेस्थेसियामा छन् । डा प्रमिला स्त्रीरोग विशेषज्ञ हुन् । उनले ६६ वर्षीय आमा अर्जुनकुमारी गुप्ताको पाठेघरको शल्यक्रिया गरेकी हुन्।

गएको बुधबार शल्यक्रिया गरेपछि अहिले उनी घरमा आराम गरिरहेकी छिन् । दुई महिनादेखि लगातार पिसाब नलीबाट रगत बगेपछि जाँच गर्दा पाठेघरमा क्यान्सर देखिएको थियो । त्यसपछि घरपरिवारको सल्लाह बमोजिम प्रादेशिक अस्पतालमै शल्यक्रिया गरिएको हो ।

“धेरैले यो अस्पताललाई रेफर अस्पताल भन्नुहुन्छ, यही सुधार गर्न म अन्य जिल्ला छोडेर सेवा गर्न आफ्नै ठाउँमा आएकी छु”, डा प्रमिलाले भनिन्, “सामान्य ज्वरो आउँदा पनि बाहिर जानुपर्दैन, ठूलाठूला शल्यक्रिया गरिन्छ, भन्ने सन्देश दिन हामीले यहीँ उपचार गरेका हौँ ।”

डा प्रमिलाले यसअघि बारा, पर्सा, वीरगञ्ज, घोराही प्रतिष्ठानलगायतका स्थानमा बसेर चिकित्सकको रूपमा सेवा दिएकी छिन्। उनी पछिल्लो ६ महिनादेखि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत छिन् । उनी तुलसीपुर–५ का स्थायी निवासीसमेत हुन् । उनले बिरामीका आफन्त सकारात्मक भएमा प्रादेशिक अस्पतालमै प्रभावकारी सेवा दिन सकिने बताइन् । “डाक्टरले कहिल्यै बिरामीलाई नराम्रो होस्, भन्ने चाहँदैनन्, जसरी हुन्छ सञ्चो बनाएर पठाउने डाक्टरले सोचिरहेको हुन्छ”, उनले भनिन् “तर, केही अप्रिय घटना भएमा डाक्टरमाथि आक्रमण हुन्छ, यसले गर्दा डाक्टरले जोखिम लिन मान्दैनन् ।”

अहिले पनि पाठेघरमा समस्या भएका दैनिक पाँच/सातजना बिरामी आउने गरेका छन् । तर, तीमध्ये सरदर एक जना बिरामीको मात्रै प्रादेशिकमा उपचार हुने गरेको छ, अन्य सबै बाहिरी जिल्लामै उपचारका लागि जाने गरेको डा गुप्ताले बताए । सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गर्न सकिएमा अहिले जस्तो रेफर दर नबढ्ने उनको भनाइ छ ।

Skip This
Skip This
Logo