काठमाडौं
आन्तरिक प्रतिस्पर्धामा सफल करिब १४ हजार विद्यालय तहका शिक्षकले स्थायी पदमा नियुक्ति पाउँदै गर्दा छुट अस्थायी शिक्षक स्थायी हुन पाउने माग सहित पुनःआन्दोलित भएका छन् ।
शिक्षक समुदायसँगको सहमति अनुसार सरकारले शिक्षा ऐन, २०२८ मा आठौँ र नवौँ संशोधनपछि शिक्षक सेवा आयोगले गएको असार १९ मा गरेको विज्ञापन अनुसार लिखित र मौखिक परीक्षामा सफल भई नियुक्तिका लागि १४ हजार २७१ शिक्षकको सिफारिश भएको हो । यी मध्ये १७४ परीक्षार्थीको मौखिकको परीक्षा प्रकाशन हुन बाँकी छ ।
सिफारिस भएका प्रावि तहका १० हजार ८८३, निमावी तहमा एक हजार ९०९ र मावि तहमा एक हजार ४७९ कार्यरत अस्थायी शिक्षकको स्थायी पदस्थापनाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ । ती शिक्षकले चैत मसान्तभित्र नियुक्तिपत्र पाउनेछन् । परीक्षामा सफल भई आयोगले अन्तिम नामावली प्रकाशन गरेको मितिले ती शिक्षक स्थायी नियुक्तिमा जानेछन् ।
आयोगका सूचना अधिकारी रामराज खकुरेलका अनुसार कूल २६ हजार १५१ रिक्त शिक्षक दरबन्दीमध्ये २२ हजार ७६ पदमा विज्ञापन गरिएकामा दुई हजार ५०० पदमा दर्खास्त नपरेकाले बाँकी पदमा परीक्षा भएको थियो । उहाँले प्रावि तहमा गएको फागुन २६ र मावि तहको चैत १५ गते सिफारिस गरिएको जानकारी दिनुभयो ।
केन्द्रका निर्देशक नगेन्द्रप्रसाद रेग्मी मार्फत् सबै एकाइलाई निर्देशन पठाई प्रावि तहका शिक्षकलाई त्यही विद्यालय र महिला तथा अपाङ्गता भएका शिक्षकलाई पायक पर्ने विद्यालयमा र अन्य शिक्षकलाई विषय र दरबन्दी हेरी प्राथमिकताका आधारमा नियुक्ति दिन आग्रह गरिएको छ ।
नेपाल शिक्षक महासङ्घले आन्तरिक परीक्षाबाट यति धेरै स्थायी शिक्षक नियुक्त हुनु ऐतिहासिक भएको ठान्दै सेवाबाट बिदा हुने अस्थायीलाई गएको फागुन ९ गतेको सहमतिका आधारमा शिक्षकलाई चाँडो सुविधा दिएर घर पठाउन माग गर्दै आएको छ ।
यता ०७२ असोज २ गते पछि अस्थायीमा नियुक्त भएका र गोल्डेन ह्याण्डसेकसमेत नपाउने भएका अस्थायी शिक्षकलाई स्थायी हुन पुनःएकपटक मौका दिइनु पर्ने भन्दै छुट अस्थायी शिक्षक सङ्घर्ष समितिले काठमाण्डौमा धर्ना र दबाबमूलक कार्यक्रम सञ्चालन जारी राखेको छ । समितिका प्रदेश नं ३ का संयोजक बहादुरसिंह लामाले बुधबारको बैठकले आन्दोलनलाई निरन्तर जारी राख्ने निर्णय भएको जानकारी दिनुभयो ।
रासस































प्रतिक्रिया