आन्दोलन फिर्ता लिन चिकित्सकहरुलाई सरकारको चेतावनी

आन्दोलन फिर्ता लिन चिकित्सकहरुलाई सरकारको चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले आन्दोलनरत चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिएर काममा फर्किन चेतावनी दिएको छ । कर्मचारी समायोजन ऐनको विरोध गर्दै स्वास्थ्य सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका चिकित्सकहरु तत्काल सेवामा नफर्किए कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।

सरकारी चिकित्सक संघ (गोदान) को आह्वानमा सरकारका करिब १४ सय चिकित्सक एकै पटक मुलुकभर आन्दोलनमा उत्रिदा बिरामी मारमा परिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै चिकित्सकलाई तत्कालै सेवामा फर्कनुको विकल्प नभएको चेतावनी दिएको हो ।

सबै निजामती कर्मचारीहरुलाई तीनै तहमा समायोज ऐन २०७५ बमोजिम समायोजन गर्ने कार्य भएकोमा चिकित्सकले विरोध गर्नुको कुनै तुक नभएको मन्त्रालयको चेतावनी छ ।

मन्त्रालयको सूचनामा भनिएको छ,’ स्वास्थ्य सेवामा सबैको पहुँच सहज सुलभ बनाउने संविधानको उद्देश्य अनुरुप काठमाडौँ उपत्यका र केही ठूला शहरहरुमा केन्द्रित स्वास्थ्य सेवालाई सात प्रदेश र ७५३ स्थानीय तहमा पुर्‍याउनु अत्यावश्यक छ। त्यसका लागि नै चिकित्सकहरुको पनि समायोजन जरुरी भएको हो।’

मन्त्रालयले आफ्नो अपिललाई बेवास्ता गरी आन्दोलन जारी राखेमा आवश्यक सेवा सञ्‍चालन ऐन २०१४ र अन्य प्रचलित कानुनको अधिनमा रही कारवाही प्रक्रिया अघि बढाउन सरकार बाध्य हुने चेतावनी दिएको छ। त्यसबाट चिकित्सकहरुलाई पर्न जाने असरको जिम्मेवारी आन्दोलनकर्ता चिकित्सकहरु नै हुने समेत जानकारी गराएको छ।

Skip This
Skip This
Logo