अर्घाखाँची । सोमबार अर्घाखाँचीमा जीप दुर्घटना हुँदा मर्नेको संख्या ४ जना पुगेको छ । घाइतेमध्ये थप एकजनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो ।
उपचारको क्रममा पछिल्लो पटक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १२ डिभर्नाकी ३० वर्षीया बिष्णुमाया श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठको युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो ।
सन्धिखर्कबाट प्युठानको बरौला जाँदै गर्दा लु १ ज १२२९ नम्बरको जीप सोमबार दिउँसो २ बजे भूमिकास्थान नगरपालिका ८ नुवाकोटको लात्तेबाँझ भन्नेस्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा परी २ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपमा १८ जना यात्रु थिए । घाइतेहरुमध्ये ८ जनालाई थप उपचारको लागि रिफर गरिएको छ । बाँकी घाइतेको सन्धिखर्कमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।
दुर्घटनाका घाइते सोनु शाहीले चालक र सहचालक युवतीसँग जिस्किँदै गर्दा दुर्घटना भएको बताएकी छन् । ‘जीप उकालोमा उक्लिरहेको थियो । त्यही बेला चालक र सहचालक युवतीलाई जिस्काउनतिर लागे । एकैछिनमा जीप सडकबाट तल खस्यो’ उनले भनिन् । तर प्रहरीले भने उकालोमा ब्रेक फेल भएर जीप सडकबाट तल खसेको जनाएको छ ।
दुर्घटनामा परेर प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षीया मोनिका आचार्य र ऐरावतीकै ५२ वर्षीय धनबहादुर राना तथा सन्धिखर्क नगरपालिका १२ डिभर्नाका ४ वर्षीय प्रिन्स श्रेष्ठ रहेका छन् । पछिल्लो पटक मृत्यु भएकी विष्णुमाया प्रिन्सकी आमा हुन् ।





























प्रतिक्रिया