काठमाडौं
समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता भएका छन् । विभिन्न स्थानीय तहले आवश्यक कर्मचारी रहेकाले मन्त्रालयबाट खटाइएका बिना दरबन्दीका कर्मचारीहरूलाई हाजिर गराउन नसकिने कारण देखाई हाजिरै नगरी फकाईदिएका हुन् । काठमाडौं महानगरले त समायोजन भएर आएका कर्मचारी राख्न नसक्ने भन्दै फिर्ता गरेको पत्र नै पठाएको थियो ।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, मध्यपुर थिमी र भक्तपुर नगरपालिकामा समायोजन गरी पठाएका ३० जनाभन्दा बढी कर्मचारीलाई हाजिर नगराई फिर्ता पठाइएको उक्त मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।
सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई स्थानीय तहले हाजिर नगराएपछि अन्य कर्मचारी पनि समायोजन भएका कार्यालयमा जान आनाकानी गरिरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्री लालबाबु पण्डितको संयोजकत्वमा रहेको कर्मचारी समायोजन निर्देशक समितिमा हाजिर नगराई फिर्ता पठाएका कर्मचारीको छुट्टै फाइल खडा गरी पेश गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।
हाजिर नगराउने कर्मचारीमा कार्यालय सहयोगीदेखि शाखा अधिकृतसम्म छन् । सरकारले चैत दोस्रो साता तीन तहमा गरी ९८ हजार ५ सय ६८ जना कर्मचारी समायोजन गरेको थियो । सरकारले स्थानीय तहको ६६ हजार ९ सय ८ दरबन्दी मध्ये निजामती र साविक स्थानीय तहका गरी ४३ हजार १ सय ४० कर्मचारी समायोजन गरेको थियो ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया