टिमुर खेतीः न बाँदरले खाने डर, न बिग्रिएला भन्ने पीर

टिमुर खेतीः न बाँदरले खाने डर, न बिग्रिएला भन्ने पीर

केन्द्रबिन्दु
24
Shares

रामेछाप । तपाईँको जमिनमा बाँदरले दुःख दिएर खेती नै लगाउन छाड्नु भएको छ ? अथवा काम गर्ने मान्छे नभएर जमिन त्यतिकै बँझिएको छ ?
अब चिन्ता नगर्नूस्, बाँझो जमिनमा टिम्मुर खेती लगाउनूस्, मनग्य आम्दानी लिनूस् । न बाँदरले खाला भन्ने डर, न समयमा बिक्री नभएर बिग्रिएला भन्ने पीर । जति उब्जाए पनि बिक्री हुन्छ, स्वदेशमा बिक्री नभए विदेशमा हुन्छ, त्यो पनि राम्रो मूल्यमा ।

काम गर्ने मानिस नहुँदा पहाडका जमिनहरू दिनदिनै बाझिँदै छन् । त्यस्तो जमिनमा एक पटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने बिरुवा टिमुर लगाउने हो भने निरन्तर आम्दानी हुन सक्छ ।

यस्तै एक पटक लगाएपछि निरन्तर आम्दानी हुने र बाँदरलगायतका जङ्गली जनावरले पनि दुःख नदिने नगदे बालीको रूपमा टिमुर खेती देखिएको छ ।
बहुउपयोगी मसला र आयुर्वेदिक औषधिको रूपमा समेत प्रयोग हुने टिमुरको नेपाल र चीन लगायतका अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेको छ ।

टिमुरको खेती बेसीदेखि माथिल्लो लेकाली भेगमा समेत हुने गरेको छ । तथापि गुणस्तरको हिसाबले जति माथिल्लो भागमा उत्पादन भयो त्यति नै गुणस्तरीय हुने विश्वास गरिन्छ । रामेछापको खाँडादेवी गाउँपालिकामा पनि टिमुरको राम्रो उत्पादन हुने गरेको खाँडादेवी गाउँपालिका–८ का किसान सिंहबहादुर तामाङ बताउँछन् । एक पटक लगाएको टिमुरको बोटले ३० वर्ष बढी उत्पादन दिने तामाङको भनाइ छ । उनको बारीमा लगाएको एउटा बोट टिमुरले लगातार २५ वर्षदेखि उत्पादन दिँदै आएको छ ।

उत्पादित टिमुर गाउँबाट नै ५ सय रुपैयाँ मानाको दरले बिक्री हुने उनले बताए । एउटा बोटमा दुई पाथी बढी टिमुर फल्ने र त्यसबाट ७ देखि १० हजार रुपैयाँ आम्दानी गर्न सकिन्छ ।

तामाङले टिमुरका फल मात्र होइन बिरुवा समेत उत्पादन गरेर बिक्री गर्ने गरेका छन् । एउटा बिरुवा ५० रुपैयाँको दरले बिक्री गर्ने गरेको उनले बताए । टिमुरको बिरुवाका माग गाउँमा नै उच्च रहेको उनको भनाइ छ । ‘यस वर्ष ५ सय बिरुवा उत्पादन गरेको थिएँ, सबै सकियो’, उनले भने ।
किसानको मागलाई ध्यानमा राखी खाँडादेवी गाउँपालिकाले पनि वन कार्यालयसँग समन्वय गरेर यस वर्ष केही टिमुरका बिरुवा वितरण गरेको छ । तर किसानको माग अधिक भएकोले माग अनुसारका बिरुवा पुर्याउन नसकेको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए ।

टिम्मुरका दानालाई टिपेर सुकाएपछि लामो समयसम्म भण्डारण गरेर राख्न पनि सकिन्छ । त्यसैले यो तुरुन्तै बिक्री भएन भन्ने डर पनि हुँदैन । भण्डारण गरेर उपयुक्त र राम्रो भाउ आएको समयमा यसलाई बिक्री गर्न सकिन्छ ।

Logo