काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको कालिमाटीस्थित दुई पकेट फरेस्टमा ५५० वृक्षारोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अभियान ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अन्तर्गत बीवाईडीले वृक्षारोपण कार्य सफलतापूर्वक सम्पन्न गरेको हो ।
हिडन ट्रेजर, रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगरपालिका वडा नं. १३ सँगको सहकार्यमा सो कार्य गरेको बताइएको छ । वृक्षारोपण कार्यक्रममा ‘मिस नेपाल–२०२४’ का प्रतियोगीहरूको समेत सहभागिता रहेको थियो ।
नयाँ पकेट फरेस्टमा रोपिएका बिरुवाको वृद्धि र दिगोपनाका लागि आगामी तीन वर्षसम्म सावधानीपूर्वक हेरचाहका साथै सम्भार गरिने साइमेक्स इंकले जानकारी दिएको छ । प्रदूषणले आक्रान्त बनेको काठमाडौं उपत्यकामा हरित र स्वास्थ्यकर सहरी वातावरण निर्माण गर्नमा साइमेक्स प्रतिबद्ध छ ।
कालिमाटीमा अवस्थित बीवाईडी पकेट फरेस्टको प्रभाव दीर्घकालीन रुपमा रहने छ । यसबाट ५ वर्ष पछि २९५ टनअक्सिजन उत्पादन हुनेछ भने १११ टन कार्बन स्टोर हुने बताइएको छ । त्यसैगरी १० वर्ष पछि ५९१ टन अक्सिजन उत्पादन हुने र २२२ टन कार्बन स्टोर हुनेछ ।
कम्पनीका अनुसार २० वर्षपछि ११८२ टन अक्सिजन उत्पादन हुने र ४४३ टन कार्बन स्टोर हुनेछ ।
साइमेक्स इंकका चिफ मार्केटिङ अफिसर समिर श्रेष्ठले सफलतापूर्वक ५५० वृक्षारोपण गरेकोमा उत्साहित रहेको बताए । ‘यो पहल वातावरणीय दिगोपना र सामुदायिक संलग्नतामा हाम्रो समर्पणको प्रमाण हो,’ उनले भने । ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियानले विशेषतः सहरी क्षेत्रमा हरियाली निर्माण गर्न र वातावरणीय दिगोपनाका लागि योगदान गर्ने लक्ष्य लिएको छ ।
यसबाट साइमेक्सले वातावरणीय ह्रासको हानिकारक नतिजाहरूको लामो समयदेखि सामना गरिरहेको काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रभावलाई कम गर्न खोजेको छ ।
द रिभोलुसन प्रोजेक्टका को–फाउन्डर आयुष देव पन्तले वृक्षारोपण गरेका दुई पकेट फरेस्ट समुदायका लागि शीतलताको स्रोत तथा सयौं चरा र हजारौ किराफट्याङग्राहरुको वासस्थान हुने बताइन् । ‘वृक्षारोपणमार्फत समग्र र प्रभावकारी वन जङ्गल निर्माण सुनिश्चित गर्दै द रिभोलुसन प्रोजेक्टले दिगो मियावाकी प्रविधिको प्रयोग गरेको छ,’ उनले भनिनन् । घना र विविध वृक्षरोपणको विशेषता सहितको यो दृष्टिकोण द रिभोलुसन प्रोजेक्टको हो । यसले कालिमाटीमा अवस्थित दुई बीवाईडी पकेट फरेस्टमा एक सम्पन्न इकोसिस्टम विकासमा भूमिका खेल्ने छ ।





























प्रतिक्रिया