अभिभावकको व्यापक गुनासोपछि नेपालमा PUBG गेम बन्द गराईने

अभिभावकको व्यापक गुनासोपछि नेपालमा PUBG गेम बन्द गराईने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालमा पनि मोबाइल गेम पब्जीमाथि प्रतिबन्ध लगाउन माग गरिएको छ । दैनिक घन्टौसम्म छोराछोरी मोबाइल ग्याममा रमाउन थालेपछि अभिभावकहरुले त्यसमाथि प्रतिबन्ध लगाउन भन्दै प्रहरी गुहार्न पुगेका हुन् ।

आधुनिक बन्दुक प्रयोग गरेर युद्ध खेल्ने भिडियो गेम प्लेयर अन्नोन ब्याटल ग्राउन्ड (पब्जी) मै मात्र छोराछोरीले ध्यान दिन थालेपछि अभिभावकहरुले प्रहरीसँग गुहार मागेका हुन् । पब्जीकै कारण राति सुत्दा बच्चा भर्भराउने समस्या डरलाग्दो रुपमा देखिएको भन्दै उनीहरुले यो गेमलाई बन्द गराउन माग गरेका हुन् ।

तीन अभिभावकले महानगरीय प्रहरी अपराध महाशाखामा गएर यसमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेका छन् । महाशाखा प्रमुख एसएसपी धीरज प्रताप सिंहलाई भेटेर पब्जी गेम बन्द गराउने उपाय खोज्न अनुरोध गरेका हुन् ।

भर्खर १५ वर्षको छोरा रातभर नसुतेर मोबाइल एक छिन पनि छाड्दैन। राति एकाएक हान्, हान्, मार्, मर्‍यो जस्ता आवाजले भर्भराउन थाल्छ । के रहेछ भनेर बुझ्दा पब्जी गेम खेलेर रहेछ। यसलाई हटाउन सकिंदैन ?’ भन्दै एक व्यक्तिले एसएसपी सिंहसँग आग्रह गरे ।

एसएसपी सिंहले यो गेमबारे धेरै अभिभावकले गुनासो गरेकाले बन्द गराउन प्रहरीले प्रक्रिया थालेको बताए । महाशाखामा पब्जीले बालबालिकाको मस्तिष्कमा नराम्रो असर गरेको भन्दै यसलाई बन्द गराउन धेरै अभिभावकले गुनासो गरेको जानकारी सिंहले दिए।

लाइभ च्याट गरेरै खेल्न मिल्ने पब्जीमा एक पटकमा ६ जना भन्दा बढी खेल्न मिल्छ। बालबालिकादेखि किशोराकिशोरी समेत पब्जीमा रमाउने गरेका छन्।

एसएसपी सिंहले यो गेमले बालबालिकामा हिंसाको भावना जगाउने गरेको गुनासो प्रहरीमा आउने गरेको बताए। एन्ड्रोइड मोबाइलमा पब्जी गेम डाउनलोड गर्ने १० करोड बढी नाघिसकेका छन्। भारतमा केही दिन अघि मात्रै आमाले पब्जी गेम खेल्न नदिएको भन्दै एक बालकले आत्महत्या गरेको घटना सार्वजनिक भएको थियो । त्यस्तै विश्वका विभिन्न देशहरुमा पब्जीका कारण धेरै मानिसले ज्यान गुमाईसकेका छन् ।

Skip This
Skip This
Logo