हेटौंडा
अन्डा पार्ने (लेयर्स) कखुरामा पनि बर्डफ्लु भेटिएको छ । यसअघि नेपालमा ब्रोइलर र स्थानीय जातका कुखुरामा मात्रै बर्डफ्लु देखिएको थियो । इतिहासमै पहिलो पटक लेयर्स कुखुरामा पनि बर्डफ्लुको संक्रमण भेटिएको पशुसेवा विभागका महानिर्देशक डा. विमल निर्मलले बताए । सरकारले सूक्ष्म रूपमा यसको निगरानी र अध्ययन गरिरहेको उनको भनाइ छ ।
हेटौंडा, काठमाडौंसँगै ललितपुर, भक्तपुर, कास्की, मोरङ र सुनसरीमा बर्डफ्लुको संक्रमण भेटिएको छ । बर्डफ्लु पुष्टि भएपछि विभागले चैत २ गते प्रभावित क्षेत्रमा सर्भिलेन्सको कामलाई निरन्तरता दिएको छ । यो सर्भिलेन्स अझै करिब तीन सातासम्म कायम रहने डा. निर्मलले बताए । बर्डफ्लुको संक्रमण कुन स्रोतबाट फैलिएको हो भन्ने विषयमा गहन अध्ययन भइरहेको विभागको दाबी छ । खुला सीमाका कारण भारतीय क्षेत्रबाट अवैध रूपमा आउने कुखुरा, चल्ला, अन्डा र दानाका साथै उडन्ते चरा आउने जाने गरेका कारण बर्डफ्लुका जीवाणु कुनै न कुनै स्रोतबाट भित्रिएको हुन सक्ने विभागको ठम्याइ छ ।
भारतबाट ल्याइएका कुखुराबाट बर्डफ्लु भित्रिएपछि २०६३ सालदेखि नेपाल सरकारले भारतबाट पन्छीजन्य पदार्थ ल्याउन पूर्ण रोक लगायो । तर देशभित्र उत्पादित चल्ला भन्दा सस्तो पर्ने भएकाले लुकाइछिपाइ ब्रोइलर कुखुरा ल्याउने क्रम रोकिएन ।
चालू आर्थिक वर्षमा प्रतिबन्ध लगाएको पन्छीजन्य पदार्थको जरिवानाबाट ४ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरिएको पशु क्वारेन्टाइन कार्यालय वीरगन्ज प्रमुख हरेराम यादवले जानकारी दिए । कार्यालयले बारा, पर्सा र रौतहटका चार नाकामा क्वारेन्टाइन चेकपोस्टमार्फत भारतबाट आउने पशुपन्छीको क्वारेन्टाइन जाँच्दै आएको छ ।
नाकामा कडाइ गरे पनि प्रत्येक वर्ष देशका विभिन्न स्थानमा बर्डफ्लु देखिने गरेको छ । ‘यसबारे सरकारले पुश चिकित्सकमार्फत बृहत् अध्ययन गर्नुपर्छ’, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख चेतनारायण खरेलले भने, ‘के कारणले प्रत्येक वर्ष बर्डफ्लु देखिन्छ, यसै भन्न सकिन्न ।’
अन्नपूर्णबाट































प्रतिक्रिया