इतिहासमै पहिलो पटक लेयर्स कखुरामा पनि बर्डफ्लु

इतिहासमै पहिलो पटक लेयर्स कखुरामा पनि बर्डफ्लु

केन्द्रबिन्दु
0
Shares

हेटौंडा

अन्डा पार्ने (लेयर्स) कखुरामा पनि बर्डफ्लु भेटिएको छ । यसअघि नेपालमा ब्रोइलर र स्थानीय जातका कुखुरामा मात्रै बर्डफ्लु देखिएको थियो । इतिहासमै पहिलो पटक लेयर्स कुखुरामा पनि बर्डफ्लुको संक्रमण भेटिएको पशुसेवा विभागका महानिर्देशक डा. विमल निर्मलले बताए । सरकारले सूक्ष्म रूपमा यसको निगरानी र अध्ययन गरिरहेको उनको भनाइ छ ।

हेटौंडा, काठमाडौंसँगै ललितपुर, भक्तपुर, कास्की, मोरङ र सुनसरीमा बर्डफ्लुको संक्रमण भेटिएको छ । बर्डफ्लु पुष्टि भएपछि विभागले चैत २ गते प्रभावित क्षेत्रमा सर्भिलेन्सको कामलाई निरन्तरता दिएको छ । यो सर्भिलेन्स अझै करिब तीन सातासम्म कायम रहने डा. निर्मलले बताए । बर्डफ्लुको संक्रमण कुन स्रोतबाट फैलिएको हो भन्ने विषयमा गहन अध्ययन भइरहेको विभागको दाबी छ । खुला सीमाका कारण भारतीय क्षेत्रबाट अवैध रूपमा आउने कुखुरा, चल्ला, अन्डा र दानाका साथै उडन्ते चरा आउने जाने गरेका कारण बर्डफ्लुका जीवाणु कुनै न कुनै स्रोतबाट भित्रिएको हुन सक्ने विभागको ठम्याइ छ ।

भारतबाट ल्याइएका कुखुराबाट बर्डफ्लु भित्रिएपछि २०६३ सालदेखि नेपाल सरकारले भारतबाट पन्छीजन्य पदार्थ ल्याउन पूर्ण रोक लगायो । तर देशभित्र उत्पादित चल्ला भन्दा सस्तो पर्ने भएकाले लुकाइछिपाइ ब्रोइलर कुखुरा ल्याउने क्रम रोकिएन ।

चालू आर्थिक वर्षमा प्रतिबन्ध लगाएको पन्छीजन्य पदार्थको जरिवानाबाट ४ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरिएको पशु क्वारेन्टाइन कार्यालय वीरगन्ज प्रमुख हरेराम यादवले जानकारी दिए । कार्यालयले बारा, पर्सा र रौतहटका चार नाकामा क्वारेन्टाइन चेकपोस्टमार्फत भारतबाट आउने पशुपन्छीको क्वारेन्टाइन जाँच्दै आएको छ ।

नाकामा कडाइ गरे पनि प्रत्येक वर्ष देशका विभिन्न स्थानमा बर्डफ्लु देखिने गरेको छ । ‘यसबारे सरकारले पुश चिकित्सकमार्फत बृहत् अध्ययन गर्नुपर्छ’, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख चेतनारायण खरेलले भने, ‘के कारणले प्रत्येक वर्ष बर्डफ्लु देखिन्छ, यसै भन्न सकिन्न ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo