काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको आन्तरिक विवादका कारण एघार महिनादेखि सांगठनिक एकता प्रक्रिया अलपत्र परेको छ । तीन महिनाभित्र टुंगो लगाउने भनिएको सांगठनिक एकताको काम एक वर्ष पुग्न लाग्दा समेत टुंगो लाग्न सकेको छैन ।
सांगठनिक एकीकरणको काम टुंगो लगाउन गठित कार्यदल पनि असफल हुँदै आएको छ । पार्टी एकताको बाँकी काम पूरा गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ठूलो विवाद छैन । पूर्व सहमति अनुसार पूर्व दुई पार्टीले लिने पदको विषयमा समझदारी भइसकेको छ । पूर्व एमालेभित्रकै विवादको कारण एकताको काम प्रभावित भएको छ । अध्यक्ष ओलीले आफू निकटका व्यक्तिहरुलाई पनि पदिय जिम्मेवारी दिने गरी खाका तयार गरेको आरोप लगाउदै वरिष्ठ नेता माधव कुमार नेपालले समानान्तर कमिटी बनाउने चेतावनी दिनुभएको छ ।
सांगठनिक एकताको कामले गति लिन नसक्दा आठ लाख कार्यकर्ता जिम्मेवारी विहीन अवस्थामा छन् । शीर्ष नेतृत्वमा देखिएको टकरावको कारण पार्टी एकीकरण घोषणा भएकै दिन गठित ४ सय ४१ सदस्यीय केन्द्रीय सदस्यहरुले समेत जिम्मेवारी पाउन सकेका छैनन् । अध्यक्षद्वय ओली र प्रचण्डबाहेक न सचिवालयका अरु नेताहरुले भूमिका पाएका छन् न स्थायी समितिका नेताहरुले ।
वरिष्ठ नेता झलनाथ खनाल समयमा नै सांगठनिक एकता प्रक्रिया टुंगो नलाग्दा अब कार्यकर्तालाई दिने जवाफ समेत नभएको बताउनुहुन्छ । ‘कार्यकर्तामा निराशासँगै आक्रोश छाएको छ, कम्युनिस्ट पार्टीभित्र एघार महिनासम्म नेता र कार्यकर्तालाई भूमिकाविहीन बनाएर राख्दा ठूलो घाटा भएको छ’, उहाँ भन्नुहुन्छ– ‘सचिवालय र स्थायी समिति बैठकले एकताको बाँकी काम छिटो टुंगो लगाउन निर्णय गरेकै छ, तर अध्यक्षद्वयको ध्यान पुग्न सकेको छैन ।’
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया