कोशी प्रदेशमै चिया सम्मेलन आयोजना हुन्छ -मुख्यमन्त्री कार्की

कोशी प्रदेशमै चिया सम्मेलन आयोजना हुन्छ -मुख्यमन्त्री कार्की

केन्द्रबिन्दु
9
Shares

इलाम । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा यही हिउँदमा चिया सम्मेलन आयोजना गर्ने बताएका छन् ।

इलामको सूर्याेदय नगरपालिकाको वर्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले हिउँद महिनामा कोशी प्रदेशमा चिया सम्मेलन गर्न लागिएको जानकारी दिएका हुन् । कृषिसँग पर्यटन जोड्नलाई चिया सम्मेलन आवश्यक भएकाले चिया सम्मेलन गर्न लागिएको उनले बताए ।

२०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरिएको भन्दै उनले यसले इलामको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउदै यस लाइ सफल पार्न समेर आग्रह गरे । पर्यटकलाइ सहजीकरण गर्न कोशी प्रदेशमा पर्यटन प्रहरीको सुरुवात गरिएको बताउँदै उनले सूर्याेदयमा पनि पोष्ट स्थापना गर्ने जानकारी दिए ।

पर्यटन प्रहरी र भ्रमण वर्षले कोशी प्रदेशमा धार्मिक पर्यटक भित्र्याउन सहज हुने उल्लेख गर्दै उनले प्रदेशले धार्मिक पर्यटनमा ध्यान दिने बताए । उनले भारत र चिनबाट हिन्दू र बौद्धिष्ट धर्मावलम्बीहरुलाई नेपाल भ्रमणमा ल्याउन सकिने भन्दै यसले हाम्रो पर्यटन व्यवसाय विकास गर्दै मुलुककै कायापलट गर्न सकिने बताए । उनले नेपाली कृषि उत्पादनलाई भारत निर्यातका लागि सहजिकरण गर्न प्रदेश सरकार तयार रहेको बताए ।

मुख्यमन्त्री कार्कीले राजनीतिक अस्थिरताले विकास निर्माणमा समस्या भएको उल्लेख्य गरे । उनले प्रदेशमा भइरहेको सरकारको फेरबदल र राजनीतिक अस्थिरताले जनतामा नैराश्यता आएको भएपनि यसलाई चिरेर अब अघि बढ्ने सरकारको योजना रहेको बताए । आफू नेतृत्वमा रहँदा उत्कृष्ट रुपमा कार्यसम्पादन गरेको दृष्टान्त दिँदै उहाँले बजेट खर्चको आधारमा कोशी प्रदेश पहिलो रहेको बताए ।

मुख्यमन्त्री कार्कीले शासकीय सुधार गरेर जाने प्रतिवद्धता व्यक्त गरे । सूर्याेदय नगरपालिकाले नेपालकै सबै पालिकाहरु मध्ये केही विधामा उत्कृष्टता हासिल गर्न सफल भएको भन्दै उनले यसलाई निरन्तरता दिन आग्रह गरे । प्रदेश सरकार नगरको साथमा सधैं रहने उनले बताए । उनले स्थानीय तहको पूँजीगत खर्च बढाउन आवश्यक रहेको बताए । उनले नीति तथा कार्यक्रम सफल बनाउन प्रदेश सरकार, संघीय सरकार र नीजि क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै कोशी प्रदेश सभा सदस्य समशेर राईले इलाममा भेटेरिनरी अस्पताल खोलेको भन्दै मुख्यमन्त्री हिक्मत कार्कीलाई धन्यवाद व्यक्त गरे ।

उनले इलाममा पर्यटन र कृषिको विकासको लागि आवश्यक पर्ने अड्डा स्थापना गर्न माग गरे । प्रदेश सभा सदस्य खिनु लुङ्वा, संविधान सभा सदस्य लीला श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नगरपालिकाका मेयर रणबहादुर राईले सुशासन कायम गर्दै विकास निर्माणमा नगरपालिका अगाडि बढिरहेको बताए । उनले सुशासनको मामलामा नगरपालिका प्रदेशमै नमूना रहेको बताए ।

Logo