दोस्रो बजारमा सेयर किन्दा कम्पनीको नाफा हेर्ने कि बजार मूल्य ?

दोस्रो बजारमा सेयर किन्दा कम्पनीको नाफा हेर्ने कि बजार मूल्य ?

केन्द्रबिन्दु
18
Shares

नेपालमा सेयर बजारप्रति जोकोही पनि अहिले रुचि राख्ने गर्छन् । त्यसैले होला, आज सेयर बजारप्रति चासो राख्ने मान्छेहरू अफिसदेखि घरसम्म यसको बारेमा गुनगुनाइ रहेका हुन्छन् । आईपीओ भर्नेदेखि दोस्रो बजारमा कारोबार गर्नेहरूको समेत संख्या उच्च छादैछ । यद्यपि दोस्रो बजारमा लागेर सेयर खरिद गर्नेहरूको समेत संख्या उल्लेख्य छ ।

जसका कारण सेयर कारोबार रकम दिन प्रतिदिन बढ्ने क्रम जारी छ । दोस्रो बजारमा लगानी गर्ने भनेको नाफा कमाउनका लागि नै हो । तर, दोस्रो बजारमा लगानी गर्ने सबैले नाफा कमाउँछन् भन्ने हुँदैन । धेरैले लगानी गरे बापतकै रकम गुमाएका उदाहरण पनि छन् ।

शेयरमा गरिने लगानीमा प्रतिफल निश्चित हुँदैन । यदि शेयर बजारमा लगानीको प्रतिफल निश्चित भएको भए अन्यमा छाडेर धेरैले यही क्षेत्रमै लगानी गर्थे होला । जे होस्, लगानी गर्दा विचार पुर्याउने हो भने धेरै घाटा बेहोर्नुपर्दैन । सेयर बजारमा लगानीकर्ताको आ–आफ्नो तरिकाले कम्पनीको छनोट गरी लगानी गर्ने गर्छन् ।

दोस्रो बजारमा लगानी गर्दा लगानीकर्ताले आफ्नो सोच वा कम्पनीको विभिन्न आधारलाई हेरेर लगानी गर्ने गरिन्छ । सेयर बजारबाट सधै नाफा नै हुन्छ भन्ने आधार छैन । तर, दोस्रो बजारमा आफूले कमाउनका लागि लगानी गर्ने हो या गुमाउन बुझ्न जरुरी छ । १७ सय देखि २२ सयको बिचमा रुमल्ली रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेसँगै गति लिँदै गएको छ । पौडेल नै अर्थमन्त्री हुँदा ३२ सय पुगेको इन्डेक्सले यसपटक रेकर्ड तोड्ने अपेक्षा राख्दै आम लगानीकर्ता दोस्रा बजारमा लगानी गर्न हौसिएका छन् ।

नयाँ सरकार, सेयर बजारप्रति सकारात्मक अर्थमन्त्री र मौद्रिक नीति पनि सहज किसिमको आउँदा सेयर बजारमा उछाल आउनु स्वभाविक हो । तर, बजार कहिलेसम्म उकाले लागेर ओह्रालो लाग्ने हो, त्यो हेर्न बाँकी छ । अहिलेको समयमा बजारले गति लिने लगानीकर्ताहरू बताउँदै आएका छन् ।

मैले यो किने वा अर्को कम्पनीको सेयर अब बढ्छ भने आंकलन गरी सेयर किन्नेको जमात एकातर्फ छँदैछ । किनभने त्यो कम्पनीको व्यापार कस्तो छ वा कम्पनीले नाफा आर्जन साथै मूल्यांकन गर्ने फुर्सद हामीसँग हुँदैन । हुन त जुन कम्पनीको वित्तीय अवस्था खतम छ सोही कम्पनीको मूल्य बढी भइराखेको हुन्छ । लगानीकर्ताहरूले नाफा नै नदिने कतिपय कम्पनीहरूमा पैसा खन्याइरहेका छन् । नाफा कमाउन नसक्ने कम्पनीहरू जसको उच्च बजार मूल्य छ । आफूले लगानी गरेको कम्पनीले कुनै दिन ठुलो नाफा दिनेछ भन्ने आशामा नाफा बाँड्न नसकिरहेका कम्पनीमा लगानी गरेको हुन्छन् । जुन एक हिसाबले भने गलत हो ।

कुनै कम्पनीले भविष्यमा नाफा देला भन्ने सोचेर त्यसमा लगानी गर्दै हुनुहुन्छ भने तपाई ठुलो जोखिम मोल्दै हुनुहुन्छ । सेयर बजारलाई सकारका धेरै क्षेत्रहरूले प्रभाव पारेको हुन्छ ।

यदि अर्थव्यवस्था सुस्त छ भने सरकारले उठाउने राजस्व र कर्पोरेट कम्पनीले गर्ने नाफा वृद्धि पनि घट्छ । धेरैले कम ब्याज दरको आडमा पुँजी बजारमा उच्च लगानी गरिरहेका छन् । त्यसैले शेयर बजारमा कसले खेल खेलिरहेको छ भन्ने बुझ्नुपर्छ । ठुला खेलाडीले पुँजी बजारमा उतारचढाव ल्याइरहेका हुन्छन् त्यो कुरा चाहिँ भुल्नु हुँदैन ।

पछिल्लो समय शेयर बजार बढेको छ । बढेकाे बढ्यै गरेको सेयर बजार कहिले घटेर धेरैलाई डुबाउन सक्छ त्यसको टुङ्गो छैन । किनभने बढ्ने बजार घट्न सक्दैन भनेर भन्न सकिँदैन । त्यसैले आफू सचेत बनेर मात्र शेयर बजारमा लगानी गर्नुपर्छ भन्ने विषय बुझ्न आवश्यक छ । वास्तविक नाफा कुन कम्पनीले बढी कमाएको छ त्यो हेरेर मात्र कम्पनीको मूल्याङ्कन गर्नुपर्छ भन्ने कुरालाई मूल मन्त्र बनाउनै पर्छ । तर, नेपाली सेयर बजारमा कम्पनीको वित्तीय अवस्था हेर्न भन्दा पनि उक्त कम्पनीको बजार मूल्यलाई हेरेर लगानी धेरैले गरेका हुन्छन् । यसो गर्नाले लगानीको जोखिम बढ्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

सेयरमा लगानी गर्ने हो भने कम्पनीको अवस्थालाई विशेष अध्ययन गर्नुपर्छ । अध्ययन गरेर गरिएको लगानीले तत्काल ठूलो फाइदा नहोला, तर दीर्घकालीन रूपमा यसले राम्रै फाइदा पुर्याउँछ । त्यसैले लगानी डुब्ने हैन, प्रतिफलसमेत दिने कम्पनीको सेयर खरिद गर्दा उपयुक्त हुन्छ ।

Logo