सुधीर बस्नेतको भेगास सिटी लिलाम हुने

सुधीर बस्नेतको भेगास सिटी लिलाम हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिले भेगास सिटी अपार्टमेन्ट लिलाम बिक्री गर्ने भएको छ । ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतले महालक्ष्मी नगरपालिका—२ स्थित निर्माणाधीन अपार्टमेन्ट पूरा गरी बचतकर्ताको रकम फिर्ता गर्ने योजना पेश गरे पनि समितिले त्यसलाई अस्वीकृत गरी लिलामीमा लैजाने निर्णय गरेको हो ।

समितिका सदस्य–सचिव रेवतीरमण पोखरेलका अनुसार बस्नेतले परियोजना पूरा गर्नका लागि पेश गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पूर्ण नभएको तथा परियोजना पूरा गर्ने आधारसमेत नभएकाले लिलाम गर्नुपर्ने अवस्था आएको बताए । “पेश भएको डीपीआरमा कानुनी प्रक्रिया पूरा गरिएको छैन भने आयोजना पूरा गरेर बचत फिर्ता गर्ने आधारसमेत पुष्टि हुदैँन,” उनले भने, “त्यसैले बस्नेतको प्रस्ताव अस्वीकृत गरी लिलामीमा लैजाने निर्णय गरिएको हो ।” लिलाम बिक्रीबाट प्राप्त रकमबाट सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने उनले बताए ।

डीपीआर मूलतः इञ्जिनियरिङ विषय भएकाले सम्बन्धित विषयमा योग्यता हासिल गरी दर्तावाल प्राविधिकले तयार गर्नुपर्ने भएपनि बस्नेतको मात्र हस्ताक्षर रहेको, परियोजनामा फ्ल्याटको संख्या वृद्धि गर्ने भनिए पनि त्यसको नक्सा पेश नगरेको समितिले जनाएको छ । यसैगरी समितिसँग समस्याग्रस्त संस्थाको थप दायित्व सिर्जना गर्नेगरी काम गर्ने अधिकारसमेत नभएकाले निर्माण अघि बढाउन स्वीकृति नदिइएको समितिले उल्लेख गरेको छ ।

यसैगरी, समितिले गुण्डुमा विभिन्न व्यक्तिको नाममा रहेको जग्गा, संस्थाको नाममा चितवन, नवलपरासी, तनहुँ कास्की, मकवानपुर, दाङ र मोरङ जिल्लामा रहेको जग्गा लिलाम बिक्री गरी सहकारी ऐन-२०७४ को व्यवस्था अनुसार दायित्व भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । ओरेन्टल सहकारीमा साढे ७ हजार बचतकर्ताको ८ अर्ब ३८ करोड दायित्व देखिएको छ ।
कारोबारबाट

Skip This
Skip This
Logo