काठमाडौँ । नेपाली म्युजिक भिडियोको इतिहासमा पहिलोपटक एआई (आर्टिफिसियल इन्टिलिजेन्स) भिडियो सार्वजनिक भएको छ । नेपाल र अमेरिकामा ख्याति कमाउन सफल नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आफ्नो लोकप्रिय गीत थाकिसकेँमाथि एआईद्वारा निर्मित म्युजिक भिडियो आइतबार राष्ट्रिय टेलिभिजनहरूले प्रसारण गरी सार्वजनिक गरेको हो।
एआई भिडियो नेपालको टेलिभिजन इतिहासमा पहिलोपटक प्रसारण गरिएको हो। एआईलाई दिइएको निर्देशनमा आधारित सो भिडियोमा एआई युवायुवतीको प्रेम र विछोडको दृश्यलाई मनमोहक ढंगले देखाइएको छ ।
एआई भिडियोमा इनडोर र आउटडोर तथा कफी सपदेखि गाउँ–शहरका विभिन्न रमणीय दृश्यमा ड्राइभिङ, मठ–मन्दिर, आगोका साथै बेहुली बनेको रोचक दृश्य निर्माण गरिएको छ। मिडजर्नी, रनवेएमएल, लुमाएआई, किङएआई, टोपाज भिडियोएआईजस्ता सफ्टवेयरको मद्दतबाट निर्माण गरिएको भिडियोमा प्रइनको एआई निर्देशन, सम्पादन र कलर ग्रेडिङ रहेको छ।
विवेक पोखरेलको शब्द रचना, ग्रार्मी अवार्डको नोमिनेसनमा पर्न सफल मनोज सिंहंको बाँसुरी रहेको सो गीतमा साश्वत श्रेष्ठको मिक्सिङ र निर्माण रहेको छ । सन् २००८ मा सार्वजनिक ब्यान्डको द भाइब्ज जेनरेसन एल्बममा समावेश सो चर्चित गीत ब्यान्डले फेरि एक पटक एआई जेनरेसनलाई पस्किएको छ।
संगीतमा नयाँ–नयाँ एक्सपेरिमेन्ट गर्ने भाइब्जले विभिन्न खालका गीत–संगीत सिर्जना गर्दै आएको छ। टेक्नोलोजीमा सधैँ नयाँ एक्सप्लोर गर्न माहिर भाइब्जले सो समयमै थाकिसकेँको म्युजिक भिडियो पहिलोपटक १० हजार डलर खर्च गरेर क्यालिफोर्नियाका विभिन्न स्थानमा छायांकन गरी सार्वजनिक गरेको थियो।
त्यति बेला नेपालकै सर्वाधिक महँगो म्युजिक भिडियोका रूपमा रहेको गीतको पुरानो भिडियोमा शैलेन्द्र डी कार्कीले निर्देशन तथा छायांकन गरेका थिए। यो गीतले सन् २००९ को इमेज अवार्ड र हिट्स एफएम अवार्डमा बेस्ट ब्यान्ड अफ द इयरको अवार्ड चुम्न सफल भएको थियो। ब्यान्डले निर्मोही, तस्बिर तिम्रो, काठमाडौँ सिटीजस्ता चर्चित गीत ल्याइसकको छ। ब्यान्डमा भोकलिस्ट प्रइन सिंह छन् भने ड्रम्समा दिरेकलाल श्रेष्ठ, गितारमा रूपक लामा र बाँसुरीमा मनोज सिंह रहेका छन् ।





























प्रतिक्रिया