डेनभर । अमेरिकाका सातवटा शहरहरूमा श्रृंखलाबद्ध कन्सर्ट प्रस्तुत गर्ने हिसाबले सांगीतिक यात्रामा निस्केको नेपाली लोकरक ब्याण्ड नेपथ्यको पहिलो प्रस्तुति कोलोराडोको बोल्डरमा भव्य रूपमा सम्पन्न भएको छ ।
स्थानीय समयअनुसार बेलुकीको ठीक छ बजे हलका ढोकाहरू खुलेका थिए । त्यसैगरी पूर्वघोषित तालिकाअनुसार ठीक सात बजे कन्सर्ट सुरु भएको थियो । पर्दामा ‘सा कर्णाली’ र ‘मै मरिजाऊँला’ गीतका भिडियोसँगै कन्सर्टको सुरुवाती प्रस्तुति ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट गरिएको थियो ।
त्यसलाई ‘भेडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ ले निरन्तरता दियो । ‘दर्शक र कलाकार दुबैतर्फको उत्साह र उत्तेजनाले कन्सर्टको सुरुवातदेखि नै मञ्च र दर्शकबीच एक किसिमको सिनर्जी विकास हुँदै गएको देखिन्थ्यो ।’ बोल्डर थिएटरका अपरेशनल म्यानेजर ड्यानियल मर्फी भन्दै थिए । व्यवथापन, प्राविधिक संयोजन, दर्शकको ऊर्जा र कलाकारको प्रस्तुति सबैको जादुइ समिश्रणले यो कार्यक्रम उत्कृष्ट र अविस्मरणीय बन्न पुगेको स्टेज म्यानेजर डेल फ्यान्टनले बताए ।
नेपथ्य कन्सर्ट सकिएपछि बोल्डर थिएटरका अमेरिकी साउण्ड इन्जिनियर रोब कर्ट्सको प्रतिक्रिया थियो– ‘गजब, कलाकार र स्रोताबीच आपसी माया र सद्भावको अतुलनीय अनुभव ।’ कोलोराडो राज्यकै ऐतिहासिक धरोहरमध्येमा पर्ने झण्डै सवा एकसय वर्ष पुरानो ‘बोल्डर थिएटर’ मा तीन दसकदेखि सेवारत रोब भन्दै थिए, ‘मञ्चबाट आएको कलाकारको अवाजभन्दा दर्शकहरूको सामुहिक गायन चर्को हुँदा ध्वनि व्यवस्थापन गर्न चुनैतीपूर्ण हुन्छ, यो कार्यक्रममा मलाई त्यस्तै अनुभव भयो ।’
चालिस दिनमा सात कार्यक्रमको कार्यसूचीसहित कोलोराडोको डेनवर पुगेको नेपथ्यको पहिलो कार्यक्रम आत्मीय रहेको अनुभव ब्याण्डका अमृत गुरुङ सुनाउँदै थिए । ‘पर्वतीय राज्य कोलोराडोको यस बोल्डर शहरले हाम्रै काठमाडौँलाई भगिनी शहर घोषणा गरेको तथ्यले थप आत्मीयता बढाएको छ,’ अमृतले भने, ‘दुवै शहरका नगरप्रमुखहरू बीच यहाँ एक नेपाली साँस्कृतिक केन्द्र पनि स्थापना गरिने सहमति भएकोमा त्यो चाँडै कार्यान्वयनमा पुगोस् भन्ने कामना गर्दछु ।’
पहिलोपटक प्रस्तुतिका क्रममा प्रवेश गरेको यो राज्यमा नेपाली समुदायको जीवन्त उपस्थिती देख्न पाउँदा आफूलाई खुशी लागेको अमृतले बताए । शनिबारको कन्सर्टमा आएका दर्शकहरूमा केही चिरपरिचित अनुहारहरू पनि देखिन्थे । तिनैमध्ये थिए अग्रज कलाकार हिरण्य भोजपुरे र गायिका रिमा गुरुङ होडा ।
‘कोलोराडो वरिपरीबाट आएका नेपालीहरूको भीडले बोल्डर सहरलाई नेपालमय बनाएको अनुभव भैरहेको छ’ कन्सर्ट सकिएपछि रिमाको प्रतिक्रिया थियो, ‘नेपथ्य कन्सर्ट अनुभव गर्ने कोलोराडोवासी नेपालीहरूको लामो समयदेखिको सपना बल्ल पूरा भएको छ ।’ स्थानीयको भनाइ उल्लेख गर्दै रिमाले कुनै पनि नेपाली कार्यक्रम तोकिएकै समयमा ठ्याक्कै सुरु भएर भनिएकै समयमा अन्त्य भएको यो पहिलो अनुभव बन्न पुगेको बताइन् ।
चर्चित गीतहरू समेटिएको कन्सर्टमा ब्याण्डको स्थापनाकालीन ‘आँगनैभरि’ देखि लिएर भर्खरै रेकर्ड भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’ सम्म अटाएको थियो ।
कार्यक्रमभरि पटकपटक नेपाली भाषा र पहिचानको पक्षमा विचार राखेका अमृतले आफूले पैदलै गाउँवस्ती घुम्दाका क्रममा कतिपय गीतहरू संकलन गर्ने अवसर पाएको सुनौउँदै नेपाल आउँदा देश घुम्नु पनि सुझाए । यति भन्दै अमृतले धौलागिरिको सेरोफेरो यात्रा गर्दा बनाएको गीत ‘सिरफुल’ सुनाए ।
‘नेपाल सम्झिएँ, यहाँका नेपालीहरूको सामीप्य अनुभूत गरेँ, अमृत भाइ र नेपथ्य टोलीले यहाँ चमत्कार नै गरे ।’ लहरा पहरा गीतका सर्जक लेकाली गायक हिरण्य भोजपुरेले आफ्नो अनुभव सुनाए । भोजपुरेका श्रीमती, पूर्वसचिव र लेकाली गायिका उर्मिला श्रेष्ठका साथै दुई छोरा, छोरीज्वाइँ र नातिनीसहित कार्यक्रम हेर्न आएका थिए । ‘यो उमेरमा पनि एक्लै दुई घण्टा प्रस्तुति दिन सक्ने अमृत भाइको स्टामिना देख्दा र उनीसँगै सबै रमाएको देख्दा एकदम रमाइलो लाग्यो । ’ उर्मिलाले थपिन् । ‘उचित व्यवस्थापन पायो भने नेपाली कार्यक्रम पनि अन्तरराष्ट्रिय स्तरमा प्रस्तुत हुन सक्छ भनेर यो कार्यक्रमले देखाएको अनुभव भयो ।’ भोजपुरेका छोरी सितुले थपे ।
कन्सर्टको अन्तिमतिर पुग्नैलाग्दा अमृतले ‘गाउँगाउँबाट उठ’ सुनाएपछि हलभित्र उफ्रिने दर्शकहरूको संख्या बढ्न पुगेको थियो । त्यसले ‘रेशम’, ‘तालको पानी’ र अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ सम्म पुग्दा क्रमशः दर्शकहरूमा उत्तेजनाको पारो बढाउँदै लगेको थियो ।
कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
स्थानीय आयोजक ‘कोशेली कोलोराडो’ समूहले नेपथ्यको प्रस्तुति कोलोराडो राज्यमा आजसम्मकै सबैभन्दा ठूलो नेपाली कार्यक्रम रहेको र भव्य रूपमा सोल्ड आउटसहित सभ्य रूपमा सफल भएको प्रतिक्रिया दिएको छ ।
अमेरिका यात्राको प्रथम कन्सर्ट भव्य रूपमा सम्पन्न भएसँगै अबको दोस्रो प्रस्तुति अमेरिकाको पश्चिमी तटीय समृद्ध सहर सानफ्रान्सिस्कोमा हुनेछ । त्यहाँस्थित ‘वारफिल्ड थिएटर’ मा अगस्त १० तारिखका दिन नेपथ्य आठ वर्षको अन्तरालपछि फेरि प्रस्तुत हुँदै छ । त्यसपछि भने ब्याण्ड क्रमशः ओहायो राज्यको राजधानी कोलम्बस, टेक्सासको डालास, न्यूयोर्क, मेरिल्याण्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसवर्गमा प्रस्तुत हुनेछ । अमेरिका यात्राको सबै कन्सर्टका लागि दर्शकहरुले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ ।































प्रतिक्रिया