बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा ढाकामा जारी तनावबीच हसिनाले राजीनामा दिएकी हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विरोध बढढेपछि हसिना प्रधानमन्त्रीको सरकारी निवास छोडेर सुरक्षित स्थानमा पलायन भइसकेकी छन् ।
सरकारी जागिरमा देशको स्वतन्त्रताका लागि लडेका सेनाका छोराछोरीका लागि ल्याइएको आरक्षणको विरोधमा विद्यार्थीहरू ढाकालगायत विभिन्न सहर र विश्वविद्यालयहरूमा विगत एक महिनादेखि आन्दोलित छन् । सन् १९७१ मा पाकिस्तानसँग छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका परिवारका छोराछोरीलाई विशेष आरक्षण दिने सरकारले नीति ल्याएको थियो। बंगलादेशमा पहिलो र दोस्रो श्रेणीको सरकारी जागिरका लागि मेरिटका आधारमा हुन्छ। बाँकी ५६ प्रतिशत आरक्षणमा छुट्ट्याइएको हो। ३० प्रतिशत स्वन्त्रताका लागि लडेका व्यक्तिका छोराछोरीका लागि छुट्ट्याउँदा, १० प्रतिशत महिला, १० प्रतिशत पिछडिएको जिल्ला, ५ प्रतिशत अल्पसंख्यक समुदाय र एक प्रतिशत अपांगता भएका व्यक्तिहरूका लागि छुट्ट्याइएको छ।
प्रदर्शनकारीहरूले अन्य आरक्षणमा आफूहरूको विमति नभए पनि विशेष व्यक्तिहरूका लागि छुट्ट्याइएको ३० प्रतिशत आरक्षणमा भने असहमति भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन्। यसरी प्रदर्शन गर्दा सरकारले पनि जबाफी कारबाही गरेको छ । गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा ३०० जनाको मृत्यु भएको पुष्टि भएको छ ।
तनाव बढेपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरु हवाइ र स्थलमार्गबाट नेपाल फर्किसकेका छन् ।































प्रतिक्रिया