काठमाडौं । केही समयअघि सरकारसँग सहमति गरेर मुलधारको राजनीतिमा आएका सीके राउतले प्रदेश दुईका मुख्यमन्त्रीको कडा आलोचना गरेका छन् । बारा पर्सामा आएको हावाहुरीका कारण २९ जनाको ज्यान गएको तथा हजारौँ मानिस घरबार बिहीन भएकोमा प्रभावितका लागि प्रभावकारी काम नगरेको भन्दै राउतले मुख्यमन्त्री लालबाबु राउतको कडा आलोचना गरेका हुन् ।
प्रदेश दुईका मुख्यमन्त्री राउतले केन्द्र सरकारका कारण हावाहुरी प्रभावितका लागि राहत तथा सहयोगका काम गर्न अवरोध भएको आरोप लगाएको सम्बन्धमा सीके राउतले कडा आपत्ति जनाएका हुन् ।
हावाहुरीका कारण प्रभावित भएकालाई खानाको व्यवस्था गर्न सामूहिक मेस चलाउनका लागि पनि केन्द्र सरकार बाधक भएको भन्नु आफ्नो असक्षमता लुकाउने बहाना मात्रै रहेको सीकेको भनाई छ । केन्द्र सरकारलाई दोष लगाएर आफ्नो असक्षमता र भ्रष्टाचार लुकाउन खोजेको आरोप सीके राउतले मुख्यमन्त्री लालबाबु राउतमाथि लगाएका हुन् ।
उनले सामाजिक सञ्जाल मार्फत विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्ने मुख्यमन्त्रीले आफ्नो हावाहुरी पीडितलाई एकछाक भात खुवाउन नसकेको जनाएका छन् । उनले प्रश्न गरेका छन्, ‘केन्द्रलाई नै सबैकुरा भन्ने भए प्रदेश सरकार के का लागि ? मुख्यमंत्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन। भोजभतेर मैं ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन। जनतासँग छाला काढे सरी कर बढाएर उठाएको करौडौं रुपैयाँ पोखरी र मंदिर सौन्दर्यीकरणको नाममा आफ्ना लठैत पाल्न खर्च गर्दा केन्द्र बाधा भएन। तर अहिले भोक-भोकै घरबारविहिन भएर बिचल्ली परेका बाराका हुरी पीडित जनताहरुलाई १०-२० दिन सामूहिक रुपमा मेस संचालन गरेर दाल-भात खुवाउन मुख्यमंत्रीलाई केन्द्र बाधा भयो ? बहानाको पनि हद हुन्छ।’
हरेक कुरामा केन्द्रलाई दोष दिएर आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोजेको राउतको आरोप छ । उनले लेखेका छन्, ‘हरेक कुरामा केन्द्रलाई दोष दिएर आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोज्ने ? के प्रदेश सरकार स्वराजीहरुको हत्या गर्न, पक्राऊ गर्न र दमन गर्न मात्रै हो ?’
































प्रतिक्रिया