रामेछाप । प्रतिबन्धित नेकपा विप्लव समूहका सुनापति गाउँपालिका इञ्चार्जले आत्मसपर्मण गरेका छन् । गाउँपालिका इञ्चार्ज लोकबहादुर राना मगरले बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा गएर आत्मसमर्पण गरेका हुन् ।
२०७३ सालदेखि विप्लव समूहका लागेका राना मगर २०७४ सालमा पार्टीको गाउँपालिका इञ्चार्ज भएका थिए । रामेछापको खाँडादेवी गाउँपालिका-१ राकाथुमका स्थायी बासिन्दा रानाले पार्टीको हिंसात्मक गतिविधि आफूलाई उचित नलागेको भन्दै पार्टी परित्याग गरेको प्रतिक्रिया दिएका छन् । उनले अब स्वतन्त्र नागरिकको रुपमा बस्ने बताए ।
आत्मसमर्पण गर्न आएका राना मगरलाई प्रशासनले मानवअधिकारकर्मी र पत्रकारको उपस्थितिमा बुधबार नै छाडेको छ । हिंसात्मक गतिविधिमा नलाग्ने र सामाजिक काममा सक्रिय हुने प्रतिवद्धता जनाएपछि छाडिदिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । आत्मसमर्पण गरेका रानाको गतिविधि भने प्रशासनले निगरानी गरिरहने प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ ।































प्रतिक्रिया