काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले पार्टीका प्रदेश अध्यक्षहरूलाई केन्द्रीय सदस्य सरहको मान्यता दिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)–१० मा प्रदेश अध्यक्षहरूलाई पदेन केन्द्रीय सदस्य सरहको मान्यता दिने उल्लेख गरिएको छ ।
यसअघि प्रदेश अध्यक्षलाई पार्टीको पोलिटब्यूरो सदस्य सरहको मान्यता दिइएको थियो । एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले पार्टीको संरचनाअनुसार एक तह माथि लैजान नमिल्ने भएकाले यसअघिको भएको निर्णय पुनःविचार गर्दै प्रदेश अध्यक्षलाई पदेन केन्द्रीय सदस्यसरह जिम्मेवारी दिइएको स्पष्ट गरे।
एमालेको प्रदेश अध्यक्षसम्बन्धी पछिल्लो निर्णयसँगै कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशका चन्द्रेश्वर मण्डल, बागमती प्रदेशका कैलाश ढुङ्गेल, गण्डकी प्रदेशका नवराज शर्मा, लुम्बिनी प्रदेशका राधाकृष्ण कँडेल, कर्णाली प्रदेशका गुलाबजङ्ग शाह र सुदूरपश्चिम प्रदेशका कृष्णप्रसाद जैसी पदेन केन्द्रीय सदस्य भएका छन् ।
यसैगरी, एमालेले पुरनसिंह दयाल, मैना भण्डारी र तारा राईलाई केन्द्रीय कमिटीबाट हटाएको छ । दयाल भूगोलको काममा नखटेको, भण्डारी बिरामी परेको र राई विदेश भएकाले जिम्मेवारीबाट हटाएको एमाले अध्यक्ष ओलीले जारी गरेको अपानीमा जनाइएको छ ।
अध्यक्ष ओलीले गत असार १८ र २८ तथा साउन १७ गते बसेको सचिवालय बैठकको निर्णय, केन्द्रीय कमिटी र निकायमा पदाधिकारीसहित सदस्यको मनोनयन, केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरूको नयाँ कार्यविभाजनसम्बन्धी निर्णय जानकारी तथा कार्यान्वयन गर्न अपानी–१० जारी गरेको हो ।































प्रतिक्रिया