काठमाडौं । अब अमेरिकी नागरिकहरुले पनि नेपाल आउँदा पाँच वर्षे पर्यटक भिषा पाउने भएका छन् । अहिलेसम्म नेपालीहरुले मात्र अमेरिकी भ्रमण भिषामा ५ वर्षे बहुप्रवेश भिषा पाउँदैं आएका छन् । अब भने अमेरिकी नागरिकले पनि नेपाल आउँदा उक्त भिषा पाउने भएका हुन् । यस सम्बन्धमा अमेरिकी दूतावासका कन्सुलर शाखा प्रमुख माइक म्युस्सी र अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलबीच हस्ताक्षर भएको छ ।
नेपालले पनि अमेरिकी आगन्तुकका निम्ति भिसाका एउटै शर्त अपनाएको छ । यसबाट अमेरिका र नेपालबीच अझै निकट र गहिरो सम्बन्धको सहजीकरण हुने दुवै देशका अधिकारीले विश्वास लिएका छन् ।
विश्वभर नै भिसासम्बन्धी नीतिमा भिसा पारस्परिकता एक मानक तथा चिरस्थायी सिद्धान्तका रूपमा रहँदै आएको छ । अमेरिकी सरकार र नेपाल सरकारले अक्टोबर २०१७ देखि नै सबै प्रकारका भिसामा पारस्परिकता स्थापित गर्नेतर्फ काम गर्दै आएका थिए ।
अमेरिका र नेपालका भिसासम्बन्धी व्यवस्थामा समरूपताको स्थापनाले नेपाल आउने अमेरिकी पर्यटक तथा व्यावसायिक प्रतिनिधिहरूको सङ्ख्या तथा बारम्बारतामा वृद्धि गर्ने अवसर सिर्जना भएको भन्दै नेपालस्थित अमेरिकी दुतावासले अब नेपालको अर्थतन्त्रलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेको छ । नेपालको अर्थतन्तन्त्रको उल्लेखनीय हिस्सा पर्यटन हो ।
गत वर्ष ९० हजारभन्दा बढी अमेरिकी नागरिकले नेपाल भ्रमण गरेको उल्लेख गर्दै दुतावासले सन् २०१७ को तुलनामा १५ प्रतिशतले बढी अमेरिकी नागरिक नेपाल आएको जनाएको छ । पाँच वर्षका लागि बहाल रहने बहुप्रवेश सुविधासहितको पारस्परिक पर्यटक भिसा प्राप्तिसँगै अमेरिकी नागरिकहरूले सहजै र अझै धेरै पटक नेपाल आउने मौका पाउने भएका छन् ।
त्यसैगरी, अमेरिकी विद्यार्थी र अध्येताहरू पनि नेपालमा अध्ययन र अनुसन्धान गर्न उत्सुक रहेको दुतावासको भनाई छ । अमेरिका र नेपालबिच पारस्परिक भिसा व्यवस्थातर्फको कदमले निश्चित वर्गका नेपाली भिसा आवेदकहरूलाई पनि महत्त्वपूर्ण फाइदा पुग्ने विश्वास लिईएको छ ।































प्रतिक्रिया