बुटवल । एक महिलाले भेनाजुसँगको प्रेम सम्बन्धलाई जोगाउन आफ्नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । गत चैत्र १३ गते बुटवल उपमहानगरपालिका १ गढीटोलस्थितमा फिरोज खानको गोली हानी हत्या गरिएको छ । अनुसन्धानका क्रममा उनकै श्रीमती साहिन खातुनको संलग्नता रहेको पाईएको प्रहरीले जनाएको छ ।
नम्बर नखुलेको मोटरसाईकलमा आएका अपरिचित व्यक्तिले खानमाथी गोली प्रहार गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका खानको उपचारको क्रममा तत्काले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।
भारत घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका १ स्थित कोठा भाडामा बस्ने २० वर्षीया साहनी खातुनकै संलग्नतामा खानको हत्या भएको प्रहरीले जनाएको छ ।
खातुनसँगै प्रेमसम्बन्धमा रहेका भारत बिहार बेतिया ४२ वर्षीय साधिर हुसेनले हत्या गरेको प्रहरीले जनाएको छ । खातुन र हुसेन नाताले साली भेना हुन् । हुसेनले बुधबार साँझ कामबाट कोठामा फर्किदै गरेका फिरोजलाई कोठा आउँदै गर्दा गेटनिर गोली प्रहार गरेर फरार भएका थिए ।
मोटरसाइकलमा आएका हुसेनले गोली हानी नवलपरासीको त्रिवेणीबाट भागेको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए । प्रहरीले फरार रहेका हुसेनको खोजी भइरहेको छ ।
यसरी भएको थियो हत्या:
मैनावरको वर्कसपमा काम गर्ने फिरोज अन्सारी (खान) श्रीमती साहिनसहित विगत २० वर्षदेखि बुटवलमा बस्दै आइरहेका थिए । यही क्रममा साहिनको भेना साधिरसँग पटक–पटक भेट हुन्छ । दुवैबीच प्रेम पनि बस्छ । गत बुधबार साधिर नवलपारसीको त्रिवेणी नाका हुँदै बुटवलामा सालीको कोठामा आएका थिए । त्यहीँ दुई जना बीच हत्याको योजना बन्यो । योजना बनेपछि दिउँसो तीन बजे साधिर त्यहाँबाट छुट्छन् । फेरि साँझ ७ बजे हतियारसहित आउँछन् ।
दोस्रो पटक पेस्तोल लिएर आएका साधिरले वर्कसपबाट काम गरेर आएका फिरोजलाई गोली हानी फरार भए । ४२ वर्षका साधिरकी श्रीमतीको यसअघि नै मृत्यु भइसकेको थियो । भारतमा पनि विभिन्न अपराधमा संलग्न हुँदै आएका साधिर र साली साहिन केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
बुटवलमा वर्कपसमा बसेर गाडीको पेन्टीङ्ग गर्ने फिरोजले साहिनसँग मागी विवाह गरेका थिए ।खानको हत्या गर्नुअघि श्रीमती खातुनले १० वर्षका छोरा रेहान र ९ वर्षका आरिषलाई कोठामा थुनेर राखेकी थिइन् । श्रीमान आउने बेला भएपछि साधिर र साहिन दुवै जनाले बाटोमा नै फिरोजलाई कुरेर बसेका थिए ।
जब फिरोज कामबाट घर फर्किए, हुसेनले अंकमाल गरेजस्तो गरी फिरोजमाथि गोली बर्साए । गोली प्रहारबाट फिरोज त्यहीँ ढले । हुसेन लगत्तै त्यहाँबाट फरार भए भने श्रीमतीले केही समयपछि चिच्याए जस्तो गरिन् । त्यसपछि फिरोजलाई ई–रिक्सामा राखेर लुम्बिनी प्रादेशिक अस्पालमा पुर्याईएको थियो । तर अस्पताले केही समयमै मृत घोषणा गर्यो ।
प्रहरीको अनुसन्धान कसरी श्रीमतीमाथि नैः
प्रहरीले शुरुदेखि नै श्रीमती गतिविधीलाई नियालेको थियो । हत्या हुँदा उनले आफू कोठाभित्र रहेको बताएकी थिइन् । तर उनका छोराहरुले भने आफूहरुलाई भित्र थुनेर मम्मी बाहिर रहेको बताएका थिए । यहीँबाट प्रहरीले साहिनमाथि शंका गर्न शुरु गरेको थियो । पछि उनको मोबाइलको कल डिटेलबाट हत्याबारे थप रहस्य खुलेको प्रहरी उपरीक्षक थापाको भनाई छ ।































प्रतिक्रिया