उपत्यकाबाट जुवातास खेल्ने ८०६ जना पक्राउ

उपत्यकाबाट जुवातास खेल्ने ८०६ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जुवातास खेल्ने तथा खेलाउने ८०६ लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय अन्तर्गत रहेका काठमाडौँ, भक्तपुर र ललितपुर प्रहरीले चालू आवमा उपत्यकाका विभिन्न स्थानमा जुवातास खेल्ने तथा खेलाउने ८०६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँबाट ६३२, भक्तपुरबाट १४८ र ललितपुरबाट २६ रहेका छन् ।

काठमाडौँबाट साउनमा ६१, भदौमा ११, असोजमा ८८, कात्तिकमा ८७, मङ्सिरमा ९४, पुसमा ७६, माघमा ७८ र फागुनमा १३७ लाई पक्राउ गरेको छ । यस्तै भक्तपुरबाट साउनमा १४, भदौमा १७, असोजमा ४०, कात्तिकमा ४३, मङ्सिरमा नौ, पुसमा सात र माघमा १८ पक्राउ परेका छन् भने ललितपुरबाट असोजमा ११, कात्तिकमा ११ र पुसमा चार जना पक्राउ परेका छन् ।

पक्राउ परेका मध्ये काठमाडौँ ८०, ललितपुर तीन र भक्तपुरका सातलाई मुद्दा दायर गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । प्रहरीले जुवातासमा पक्राउ गरेकामध्ये काठमाडौँबाट साउन तीन, भदौ आठ, असोज ११, कात्तिक ९, मङ्सिर ९, पुस ८, माघ ९ र फागुनमा २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । यस्तै भक्तपुरबाट भदौ दुई, असोज दुई, पुस एक र माघमा दुई तथा ललितपुरबाट असोजमा दुई र कात्तिकमा एक जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रहरीले उपत्यकामा जुवातास खेल्ने तथा खेलाउनेसँग चालू आवमा मात्र एक करोड छ लाख ९७ हजार बरामद समेत गरेको छ । बरामद भएको रकम मध्ये काठमाडौँबाट ९२ लाख ३५ हजार, ललितपुरबाट एक लाख चार हजार र भक्तपुरबाट १३ लाख ५८ हजार रहेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले जुवातासले मानिसको भविष्य नै समाप्त पार्न सक्ने भन्दै उपत्यका प्रहरीले जुवातासमा विशेष कडाइ गरेको बताउनुभयो ।
रासस

Skip This
Skip This
Logo