खुल्यो मलेसियामा रोजगारी: कामदारले भोलिदेखि जान पाउने

खुल्यो मलेसियामा रोजगारी: कामदारले भोलिदेखि जान पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी भोलि (सोमबार) देखि खुल्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसा आएकाहरुलाई भोलीदेखि मलेसिया पठाउन लागेको हो ।

वैदेशिक रोजगार विभागले मलेसियाका रोजगारदाता कम्पनीबाट कलिङ भिसा प्राप्त नेपाली कामदारको अन्तिम श्रम स्वीकृति भोलि (सोमबार) बाट सुचारु गर्न पत्राचार गरेको छ । सोही अनुसार अन्तिम श्रम स्वीकृति लिनुपर्ने व्यवसायीहरुले नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

साथै नयाँ कामदारलाई मलेसिया पठाउनेबारे पनि मन्त्रालय, विभाग रोजगारी व्यवसायीसंघ सक्रिय छन् । केही समयभित्र नयाँ कामदारले पनि मलेसिया जान पाउने मन्त्रालयले जनाएको छ ।

नयाँ कामदारहरुलाई पनि १ महिना भित्रमा पठाउने गरी आन्तरिक तयारी भईरहेको छ । मलेसिया जाने कामदारहरु माथि आर्थिकभार पारेको भन्दै गत जेठ २ गते पाँच वटा संस्थाहरुलाई कारवाही गर्दै तत्कालको लागि रोजगारी बन्द गरेको थियो ।

कात्तिक ११ गते नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारीमा स्वास्थ्य जाँचका लागि केहि मापदण्डहरु परिवर्तन गर्न सक्ने गरी सहमति भएको थियो । सोही सहमति अनुसार मलेसियाले केहि दिनअघि मात्र स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड पठाएको थियो ।

नयाँ मापदण्ड पठाएसँगै मन्त्रालयले मलेसिया जाने कामदारहरुको स्वास्थ्य परीक्षणका लागि १५ दिने सूचना जारी गर्ने तयारी गरेको छ । स्वास्थ्य परिक्षणका लागि नीजि क्लिनिक, नर्सिङ होम, सरकारी अस्पताल सबैले आवेदन दिन पाउने छन् । आवेदनमा परेका स्वास्थ्य संस्थाहरुको मापदण्ड निरिक्षणका लागि मलेसियाबाट प्रतिनिधिहरु समेत नेपाल आउने छन् । यस्तै कलिङ भिसामा ७ हजार कामदारलाई दुई साताभित्र मलेसिया जान पाउनेछन् ।

Logo