काठमाडौँ
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलको बा १ झ ९५२७ नम्बरको पछुवा गाडीले शुक्रबार साँझ बबरमहलबाट बानेश्वरतिर जाँदै गरेको बा ४५ प ३२३४ नम्बरको स्कुटरलाई ठक्कर दियो । स्कुटर चालक सन्तोष कुँवर र त्यसमा सवार उनकी श्रीमती लडे तर ठक्कर दिने त्यो गाडीले भने कुनै ‘रेस्पोन्स’ गरेन । लडेकालाई उठाउनुपर्ने ‘जिम्मेवारी बोध’ प्रदर्शन गर्नुको सट्टा घटनाको बेवास्ता गर्दै आफ्नै गतिमा अघि बढ्यो त्यो गाडी ।
कुँवर दम्पतीलाई सामान्य चोट लागेको छ । ‘खुट्टामा सामान्य चोट लागेको थियो, हामीले नजिकैको मेडिकल सेन्टरमा गएर उपचार गरायौं,’ स्कुटर चालक कुँवरले भने । उदयपुर स्थायी घर भएका उनी बानेश्वरस्थित सुपा देउराली गेस्टहाउसका सञ्चालक हुन् । शनिबार दिउँसो २ बजेतिर साथीले घटनाको भिडियो सामाजिक सञ्जालमा आएको बताएपछि कुँवरले महानगरीय प्रहरी वृत्त बानेश्वर पुगी आफूलाई केही नभएको जानकारी गराएका थिए । उनी सम्पर्कमा पुगे लगत्तै प्रहरीले पूर्वप्रधानमन्त्री चन्द र सशस्त्र प्रहरी बललाई त्यसबारे खबर गरेको थियो । पछुवा गाडीमा सशस्त्र प्रहरी थिए ।
काभ्रेका सन्जीव तामाङ लामाले शुक्रबार राति भिडियो आफ्नो फेसबुकमा ‘पोस्ट’ गरेका थिए । त्यसपछि मात्र सशस्त्र प्रहरी बलले घटनाप्रति चासो व्यक्त गरेको थियो । सशस्त्र प्रहरी बलले तत्कालै सो गाडीका चालकलाई हल्चोक बोलाएर अनुसन्धान गरिरहेको छ । ‘हामीले बिहान थाहा पायौं, त्यसकारण चालकलाई बोलाएर अनुसन्धान गरिरहेका छौं,’ सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरज श्रेष्ठले भने ।
पूर्वप्रधानमन्त्री चन्दले शनिबार अपराह्न ५ बजेतिर स्कुटर चालक दम्पतीलाई आफ्नै निवास लोकन्थलीमा बोलाएर भेटेका थिए । आफूले घटनाबारे भिडियो हेरेर थाहा पाएको र घटनाप्रति दुःख व्यक्त गर्दै चन्दले कुँवर दम्पतीसँग माफीसमेत मागेका थिए । ‘उहाँले हामीलाई घरमा बोलाउनुभयो, केही भएको भए उपचार गर्छु भन्नुभयो, गल्ती भयो, मैले पनि बिहान मात्रै थाहा पाएँ,’ चन्दको भनाइ उद्धृत गर्दै कुँवरले भने । तर आफूहरूले यसलाई सामान्य रूपमा लिएको र घाउ पनि सामान्य नै लागेको प्रतिक्रिया दिएको कुँवरले बताए ।
पूर्वप्रधानमन्त्री चन्दले घटनाबारे आफू अनभिज्ञ रहँदा पनि सामाजिक सञ्जालमा आफूलाई लक्षित गरेर नराम्रा कमेन्ट गरिएको भन्दै दुःख व्यक्त गरेका छन् ।
भिआइपी सुरक्षाको नाममा यस्ता पछुवा गाडीले आतंक मच्चाउने गरेका छन् । उनीहरूले सडकमा साइरन बजाउँदै अन्य सवारीसाधानलाई समेत बेवास्ता गर्ने र जथाभावी सवारी चलाउँदा भिआइपीको मर्यादामा आँच आउने गरेको छ ।
नागरिकबाट































प्रतिक्रिया