राप्रपा संयुक्तको वैधानिकतामा प्रश्न, दल दर्ता नहुने

राप्रपा संयुक्तको वैधानिकतामा प्रश्न, दल दर्ता नहुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

गत माघ १८ गते एकता भएर नयाँ पार्टी बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को पार्टी वैधानिकतामा प्रश्नचिन्ह लागेको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइए पनि उक्त दलले अहिलेसम्म बैधानिकता पाएको छैन । समाचारस्रोतका अनुसार पार्टीले बुझाएको कागजात अपुग छ ।

पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता भएर बनेको पार्टीको नाम राप्रपा (संयुक्त) राखिएको थियो । राणा र लोहनीको निर्णयका आधारमा मात्र एकता भएको र पार्टीभित्र प्रशस्त छलफल नभएको भन्दै त्यति बेला नै दुवै पार्टीमा असन्तुष्टि रहँदै आएको थियो ।

राप्रपा (संयुक्त) ले कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि पार्टी एकताका लागि आव्हान गरिरहेको बेला यो पार्टीको वैधानिकता नै धरापमा पर्ने सम्भावना छ । राप्रपाले हलो चिन्ह मागेको छ । लेटरप्याडमा हलो चिन्ह नै प्रयोग छ । पार्टीले आयोगमा ६४ जनाको केन्द्रीय समिति रहेको नामावली बुझाएको छ ।

एकताको प्रक्रियामा जाँदा दुवै पार्टीको औपचारिक बैठक नबसेकाले केन्द्रीय समितिको निर्णय दिन सक्ने अवस्था छैन । राणा अध्यक्ष रहेको पार्टीेको अन्तिम बैठक गत वैशाख २५–२७ बसेको थियो ।

निर्वाचन आयोगले यो दललाई आज बिहान ११ बजे बोलाएको छ । दल दर्ता सम्बन्धी प्रक्रिया अघि बढाउन भने पनि आवश्यक कागजात नहुँदा के गर्ने भन्नेमा पार्टी नै अन्योलमा छ । तर पार्टीका नेताहरुले आयोगमा बुझाउनु पर्ने कागजात बुझाएको बताइरहेका छन् ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo