पौरख, चेतना र वैभव जगाउने निबन्ध

पौरख, चेतना र वैभव जगाउने निबन्ध

केन्द्रबिन्दु
0
Shares

सुदर्शन, कमल रिजालको पछिल्लो निबन्ध सङ्ग्रह हो । संस्कृत साहित्यमा स्नातकोत्तर रिजाल आध्यात्मिक एवम् दार्शनिक चेतनासापेक्ष रचना गर्नुहुन्छ । उहाँका कवितातर्फ आरती सङ्ग्रह (देवी देवताका आरती.. ) प्रकाशित छ ।

उहाँका सुकम, पृथा, दृष्टिभ्रम जस्ता तीन उपन्यास, रत्ननीति कथासङ्ग्रह (भाग एक र दुई) जस्ता कृतिहरू प्रकाशित छन् । उहाँको कलम कविताभन्दा आख्यानमा र आख्यानमा भन्दा चिन्तनप्रधान निबन्धमा जमेको देखिन्छ । उहाँका पौराणिक पात्र र मिथकहरू दर्शनभित्रको दर्शन यसपूर्व प्रकाशित निबन्ध कृति हुन् भने तेस्रो निबन्ध कृति एवम् नवौ कृतिका रूपमा सुदर्शन (निबन्धसङ्ग्रह) लोकार्पण भएको छ ।

यस सङ्ग्रहमा ५३ वटा निबन्धहरू संग्रहित छन् । यी मध्ये कतिपय निबन्ध पत्रपत्रिकामा पुस्तकाकार रूपमा आउनुपूर्व नै पढ्न पाइएका थिए ।
रिजाल दार्शनिक विषयलाई समाएर निबन्धन गर्नुहुन्छ । उहाँले आस्तिक र नास्तिक दुवै दर्शनहरूलाई आफ्ना निबन्धका विषयवस्तु बनाएको देखिन्छ । आस्तिक दर्शनमा न्याय, वैशेषिक, साङ्ख्य, योग, मीमांशा वेदान्त आदि पक्षका अध्यता र तिनको प्रयोक्ताका रूपमा रिजाल यी निबन्धभित्र देखापर्नु हुन्छ ।

नास्तिक भनिए पनि कुनै न कुनै रूपले आस्थालाई नै केन्द्रमा राख्ने बौद्ध, चार्वाक र जैन दर्शन पनि उहाँका चिन्तनका घेरामा कुनै न कुनै रूपले आइरहेको पाइन्छ । भौतिक दर्शनमा एक्काइसौँ शताब्दीको सर्वशक्तिमान दर्शन माक्र्सवाद हो । उहाँ यी फरक वादका विचारलाई पनि आफ्ना निबन्धको चेतना बनाउन चाहनुहुन्छ । म सबै निबन्धबारे यी दर्शनको प्रयोग कहाँ छ कसरी भएको छ भन्ने विषयमा बोल्न नसकूँला तर केही प्रयत्न गर्दैछु ।

पुरानो घर: पुरानो घर निबन्धमा केही जीवन दर्शन छ, जस्तै: हामीले नभत्कने घर त बनाउनै सक्तैनौँ । यस्तो बनाउन त के सोच्न पनि सदैनौँ । सम्भवत यस्तो शक्ति स्वयम् सृष्टिकर्ता ब्रह्मालाई पनि छैन । वेद भन्छ ः यथापूर्वमकल्पयत यहाँ मानिसले नयाँ गर्न नसक्ने जति छन् । पुरानैलाई जोडजाड गरेर नयाँ रूप दिने प्रयास गर्छन् भन्दै लक्षणाद्वारा मानिसले संसारोन्मुख हुञ्जेल जन्म र मृत्युको चक्रमा घुमिरहनुपर्छ भन्ने भाव संचार भएको छ । यस्तो चिन्तनबाट मुक्त हुन खोज्ने हो भने आफ्ना चित्तवृत्तिलाई ब्रह्मोन्मुख बनाउने प्रयास गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरिएको छ ।

त्यस्तै भरिया दाइ निबन्धको एउटा उदाहरण लिऊ ः भारी छ उनी पनि छन्, भारी छैन उनी पनि छैनन् । यहाँ भारी र भरियाको माध्यमबाट लक्षणाद्वारा जीव र कर्मवासनालाई देखाइएको छ । यस दर्शनले भन्छ चित्तको तहमा कर्मवासनाको संस्कार रहेसम्म जीवले दुखको संसारबाट मुक्ति पाउन सक्दैन । त्यसैले नै जीवको नयाँ संसार (भारी) खडा गरिरहेको हुन्छ तर प्रयास गर्ने हो भने भारी नै नबन्ने अर्थात् वासनाको तहलाई नष्ट गर्ने काम भने गर्न सकिन्छ भन्ने सन्देश दिइएको छ ।

त्यस्तै यस सङ्ग्रहका निबन्धमध्ये दृष्टि भ्रम निबन्धको एउटा उदाहरण हेरौँ, एकले अर्कोलाई बनाएको छ । एकले अर्कोलाई सघाएको छ । बीजले बोटलाई बनाएको छ । बोटले बीजलाई बनाएको छ । चेतनबाट जडको उत्पत्ति भएको छ । जडबाट चेतन उत्पत्ति भएको छ । कृष्णपक्षपछि शुक्लपक्ष आउँछ । शुक्लपक्षपछि कृष्णपक्ष आउँछ ।

यहाँ एक अर्कोको अस्तित्व वा द्वैत चेतना छ अर्थात् एकले अर्काको सहयोग नलिई कसैको पनि व्यवहार चल्दैन भन्ने चेतना छ । एकले अर्कोलाई बनाएको छ । एकले अर्कोलाई सघाएको छ । त्यसैले यदि संसारबाट सुख पाउने हो भने ठूलो सानो धनी गरीबको भाव नराखी सबैका सबै परस्परदेवो भवको भावमा उभिनुपर्छ भन्ने सन्देश दिइएको छ ।

मैले देखेको अर्को उल्लेख्य निबन्ध ओमकार दर्शन हो । यस निबन्धमा निबन्धकार भन्नुहुन्छ ःओमकारलाई उपनिषद् दर्शनले संसार उत्पत्ति गर्ने वीजमन्त्र मानेको छ । यसैलाई गीता ‘ओमित्येकाक्षरंब्रह्म’अर्थात् अनादि कालदेखि सृष्टि स्थिति र प्रलयको व्यवस्था गरी संसारको नियम सञ्चालन गर्दै आएका आदि नारायणको एकाक्षरी स्वरूप भन्छ । विद्धान्हरूका अनुसार ओमकार आफैमा एउटा महामन्त्र हो ।… आज विश्वका बाइवल, कुरान, त्रिपिटक, वेद, उपनिषद् आदि जति पनि धार्मिक ग्रन्थहरू रहेका छन् सबैमा कुनै न कुनै नाम र रूपमा ओमकारको उच्चारण भएको पाइन्छ ।

यहाँ मूलतः ओमको महत्व नै उजागर भएको छ । यसले संसारको उत्पत्ति पनि ओमबाटै भएको र विलय पनि ओममै हुने भएकाले सदा ओमकारको जप गर्नुपर्छ । यसैले नै जीवनमा सुख, शान्ति र आनन्द प्रदान गर्छ भन्ने भाव संचार गर्न खोजिएको छ ।

अलि फरक विषयको एउटा निबन्ध लिऊँ: गाईगाथा । यस निबन्धमा गाईको महत्वको पौराणिक दार्शनिक पक्षसहित गाईलाई समुद्र मन्थन गर्दाका विभिन्न चौध घडाका रत्नमध्ये एक गाई मानेको, गीतामा कृष्णले गाईलाई आफ्नै विभूति मानेको, श्रीमद्भागवत, देवीभागवत्, विष्णु, ब्रह्मवैवर्त आदिका कृष्णका बाललीलामा गाईको चर्चा रहेको, दूध, गोवर र गहुँत पनि औषधी भएको निष्कर्ष निकालिएको छ । यस निबन्धले हाम्रो वैदिक दर्शनले गाईलाई किन आमा समान मानेको रहेछ भन्ने सन्देश प्रवाह गरेको छ । यसबाट गाईमाथि आक्रमणको प्रयास भइरहेको वर्तमान समयमा प्रस्तुत निबन्धको सान्दर्भिकता र महत्व समेत मनन गर्न सकिन्छ ।

अर्को अलि फरक प्रसंगको निबन्ध हो: शरीर विज्ञान । यस निबन्धमा मानव शरीरका अंगलाई यसरी बाँडिएको छ । पहिलो: अस्थिपञ्जर, दोस्रो: प्रणालीहरू – पाचन, रक्तसञ्चार, स्नायु स्वासप्रश्वास) तेस्रो: मनोविज्ञान प्रणाली (मन, बुद्धि, चित्त र अहंकार), चौथो: परा मनोविज्ञानको तह । यस निबन्धमा परामनोविज्ञानबाटै अरू चल्ने निष्कर्ष निकालिएको छ । यसबाट शरीर आफैमा कति ठूलो विज्ञान रहेछ, विधाताको प्रयोगशालामाबाहेक अन्यत्र यस्तो विज्ञानको कल्पनासम्म पनि गर्न सकिन्न भन्ने भाव संचार गर्न खोजिएको देखिन्छ ।

परिवर्तनको खोजी निबन्धलाई मैले अर्को उदाहरणीय निबन्धका रूपमा लिएँ । यस निबन्धमा द्रोणाचार्यले युधिष्ठिर (सज्जन) र दुर्योधन–दुर्जन)लाई सज्जन र दुर्जन खोजेर ल्याउन भनिएको तर उनीहरूले नसकेको प्रसंग छ । यसमा पानी र दूध पानी र तेलका माध्यमबाट शक्ति र सामथ्र्यको खोजी गरिएको छ ।

यहाँ अरुलाई परिवर्तन गर्न नसकिने तर परिवर्तन गराउन संघर्ष चलिरहने भाव छ जस्तै:‘अरूलाई परिवर्तन गर्नुभनेको आफ्नै भने उर्जा खर्च गर्नुबाहेक केही होइन’ (पृ ३८) । अर्थात् कसैले पनि परिवर्तन गर्न सक्दैन । जति परिवर्तन भएका उसैभित्रको शक्तिले नै गरेको छ । अरू निमित्त मात्र हो । फलाममा आफै परिवर्तन भइदिने गुण नभएको भए कसैले पनि उसलाई कुटो वा कोदालोसम्म बनाउन सक्दैन भन्न खोजिएको छ ।

संसारको रीत निबन्धमा संसार विपरीत आकर्षण र विकर्षणमा चलेको निष्कर्ष निकालिएको छ । यहाँ फरक क्षमताको विपरीतिकरण गरिएको छ । धनी गरिब, उज्यालो अँध्यारो, सज्जन दुर्जन आदिका उदाहरण दिँदै उही परिवर्तन गर्न खोज्ने अर्कामा विलय भएको चिन्तन छ । साथसाथै लक्षणाद्वारा कसैले पनि प्रकृतिको विरुद्ध जानु हुदैन । यो भनेको आफै सकिने प्रयास गर्नु हो । यदि उन्नति र प्रगति हुन्छ भने प्रकृतिको नियमलाई बचाएर नै हुन्छ । मेटाएर हुँदैन भन्ने सन्देश प्रवाह गरिएको छ ।

यहाँ केही योग र वादकै पनि परिचय दिइएको छ । जस्तै, कर्मयोग, क्रियायोग, अवतारवाद, वेदान्त, समन्वयवाद, वैभव, चरैवेती, मानवतावाद, योगदर्शन, योग र उपयोग दर्शनशास्त्र आदि । यी निबन्धका शीर्षकले यी यी निबन्ध कुन विषयमा छन् भन्ने कुरा संकेत गर्छन् । अन्य निबन्ध पनि चिन्तन प्रधान छन् । यी निबन्धमध्ये दर्शनशास्त्रमा सरसरती पूर्वी पश्चिमी दर्शनको परिचय दिइएको छ । फरक फरक चेतनालाई आत्मसात् गरेका छन् । पूर्वीय वैदिक र अवैदिक एवम् पाचात्य भौतिकवादी दर्शनलाई नै आफ्ना निबन्धको विषय बनाउनु भएको छ । दार्शनिक निबन्धकारका विषयमा बढी नबोलूँ । नबोलूँ भन्दा भन्दै केही सूत्रमा भनूँ:

१. पूर्वीय दर्शन जडसूत्रवादी दर्शन होइन । महान् विज्ञान हो भन्ने भाव सञ्चार गर्ने प्रयास गरिएको छ ।

२. पूर्वले चेतनालाई अगाडि सारेको छ । पश्चिमले जड अगाडि मानेको छ तर संसारमा कोही पनि अगाडि र पछाडि छैन । सबै सँगसँग छन् । त्यसैले समन्वयवादको यात्रामा लम्कनुपर्छ भन्ने भाव सञ्चार गर्न खोजेको छ ।

३. दुःखको कारण संसार होइन । प्रकृतिले संसार सुखको लागि दिएको हो, दुःखको लागि होइन तर मानिस आफैले बनाएको संसारको कारण दुःख भोगिरहेको छ भन्ने भाव संचार गर्न खोजेको छ भन्ने चेतनाको सञ्चार ।

४. पूर्वीय वैज्ञानिकले जे बोलेका थिए आधुनिक वैज्ञानिक प्रकारात्नरले त्यही नै बोलिरहेका छन् । मात्र फरक भाषा र शैलीमा हो सारमा होइन भन्ने भाव संचार गर्नु पुस्तको अर्को लक्ष्य हो ।

५. पुस्तकले नयाँ पुस्तालाई पुर्खाको पौरख, चेतना र वैभवबारे जानकारी दिन पनि खोजेको छ ।

अब धेरै नबोलूँ । वास्तवमा म यस कृतिको विश्लेषण गर्न सही पात्र होइन । रिसाल गुरु, सुवेदी गुरुहरूको चेतनाले पढ्ने कृति हो यो । मात्र कमल रिजाल सरलाई अहिलेलाई थप दार्शनिक अन्वेषण र सिर्जनाका लागि हार्दिक शुभेच्छा । सुर्दशन निबन्ध शब्दार्थ प्रकाशनले बजारमा ल्याएको छ । यसको मुल्य ४ सय रुपैयाँ राखिएको छ ।

Logo