आइएमई र जिएमई रेमिट गाभिए, एकीकृत कारोबार आजैबाट सुरु

आइएमई र जिएमई रेमिट गाभिए, एकीकृत कारोबार आजैबाट सुरु

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । आइएमई लिमिटेड र जिएमई रेमिटले आजबाट एकीकृत कारोबारको सुरु गरेका छन् । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी उक्त दुई कम्पनीले एकीकृत कारोबार सुरुवातको घोषणा गरेका हुन् ।  

नेपालमा दुई रेमिट्यान्स कम्पनीका सञ्चालकहरूबीच गाभ्ने–गाभिने वा प्राप्ति भएको यो पहिलो हो । आइएमईले जिएमई रेमिटलाई प्राप्ति गरेसँगै अब दुई कम्पनीको एक भई आइएमई लिमिटेडको नामबाट कारोबार हुनेछ । 

बैकिङ क्षेत्रमा सफलतापूर्वक मर्ज गराउन सफल चन्द्रप्रसाद ढकालले रेमिट्यान्स क्षेत्रमा पनि पहिलो मर्ज गराएका हुन् । आइएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालले उक्त मर्जर कार्यक्रममा कम्पनी गाभिएपछि आगामी दिनमा थप सहज सेवा तथा सुरक्षित बन्दै जाने र चाँडै सार्वजनिक निष्कासनमा जाने बताए ।

‘हामीले आइएमईलाई चाँडै नागरिक माझ लैजाँदै छौं, जनतालाई मालिक बनाउने हाम्रो यो अर्को पहल हो,’ उनले भने, ‘राज्यको प्राथमिकतामा रहेको आम जनतालाई सेवा दिन सकिने र आर्थिक रूपले सम्भाव्य क्षेत्रमा लगानी गर्नु व्यवसाय गर्ने मुख्य तीन सूत्र हुन् ।’

दुई कम्पनीको एकीकृत कारोबार सुरु भएसँगै अध्यक्ष ढकाल आइएमई लिमिटेडको सञ्चालक समितिको जिम्मेवारीबाट अलग भएका छन् । आइएमई सुरुआतको समय करिब २० प्रतिशत मात्र औपचारिक रहेको ‘रेमिट्यान्स’ अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क रहेको ढकालले बताए । 

मर्जपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ पुगेको छ । हाल आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ रहेको बताइएको छ । नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा बैङ्क तथा वित्तीय संस्थाको रहेको छ । मर्जसँगै कम्पनीको कारोबार मासिक ३० अर्बभन्दा बढी हुने अनुमान कम्पनीले गरेको छ । नेपालकाे रेमिट्यान्स कारोबार रकममा आईएमई पहिलो र जिएमई तेस्रो ठूला कम्पनी हुन् ।

राष्ट्र बैंकका अनुसार आइएमईका माध्यमबाट नेपालमा सबैभन्दा बढी  रेमिट्यान्स भित्रिँदै आएकाे छ । जिएमई जापान र कोरियाबाट रेमिट्यान्स भित्र्याउँदै आएको थियो । 

यसैगरी जिएमईका अध्यक्ष अर्जुन पौडेलले यो एकीकृत कारोबारले संस्थाको विकास साथै सुरक्षित रकम प्रदानमा आइएमई लिमिटेड सक्षम हुने बताए । सो कारोबार समग्र वित्तीय क्षेत्रमा आफ्नो नेतृत्व भूमिकालाई विस्तार गर्दै अवसरको रूपमा लिएको उनको भनाइ छ ।

‘जिएमईले ७ वर्ष अघिदेखि कारोबार सुरू गर्दा कोरिया, जापान लगायतका श्रम गन्तव्यहरू छनोट गरी छिटो भर पर्दो र सुरक्षित रिमिट्यान्सको अवधारणा लिएर अगाडि बढेका थियो । हाम्रो सेवालाई विस्तार गर्दै कम्प्लिट रेमिटेन्स सेवालाई समेट्यौं, नेपाल राष्ट्र बैंकले मर्जरबारे अगाडि बढाएको नीतिलाई पछ्याउँदै यो निर्णयमा पुगेका हौं,’ उनले भने । 

आइएमईसँग गाभिएर सफलता पूर्वक हुने कारोबारले यस संस्थालाई बलियो बनाउने पनि उनको भनाइ छ । विदेशमा कमाएको रकम पढाउँदा यस कम्पनीबाट सुनिश्चित र छिटो तरिकाले परिवारमा पुग्ने अपेक्षा राखेको उनले बताए । 

पछिल्लो समय रेमिट्यान्सको आकार बढेको र डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैङ्क खातामा पठाउन सकिने भइसकेको छ । यस्तै, नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले हुन्डी कारोबारलाई नियन्त्रण गर्दै वैधानिक बाटोबाट विप्रेषण भित्र्याउन आवश्यक रहेको बताएको बताए । 

विदेशमा रहेका नेपालीलाई वैधानिक माध्यमबाट मात्रै नेपालमा पैसा पठाउन आग्रह गर्दै उनले सजिलो तरिकाले रेमिट्यान्स आप्रवासका लागि राष्ट्र बैङ्कले नीतिगत सहजता गर्ने बताए । ‘मुलुकको कुल गार्हस्थ्य उत्पादनमा विप्रेषण करिब २४ प्रतिशत हाराहारी रहेको छ, अवैध हुन्डी नियन्त्रण र वैधानिक बाटोबाट विप्रेषण भित्रिन सके त्यसबाट अर्थतन्त्रमा थप योगदान पुग्ने देखिन्छ,’ उनले भने । 

यसैगरी आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेलले मर्जरपछि रेमिट सेवाको बिस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । ‘रेमिट्यान्स सेवामा आएका वा आउन बाँकी प्रविधिलाई कार्यान्वयन ल्याउने र डिजिटल सेवा विस्तारलाई प्राथमिकता दिइने छ, यसले आइएमईको सेवालाई चुस्त र दुरुस्त पार्ने छ,’ उनले भने । 

दुई कम्पनीमा भएको मर्जले संस्थाको गति बढ्ने उनको भनाइ छ । विदेश गएका जनशक्तिले नेपालमा पठाएको पैसा सुरक्षित तरिकाले उनको परिवारसम्म पुर्याउनु आइएमईको जिम्मेवारी रहेको उनले बताए ।

Logo