काठमाडौं । लगानी सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बस्ने कुर्सी नपाएपछि उनी सम्मेलनबाट बाहिरिएका छन् । लगानी सम्मेलनको पत्रकार सम्मेलनमा समेत अनुपस्थित रहेका यादवले आफ्नो सीट नभेटेपछि झोक्किएर हलबाट बाहिरिएका हुन् ।
उनी झोक्किएर बाहिर निस्किएपछि थामथुम पारेर हलभित्र ल्याउने प्रयास गरिएको थियो। तर त्यो प्रयास सफल हुन सकेन । उनी हलभित्र नआएपछि उद्योग सचिव यमकुमारी खतिवडा, वाणिज्यका सचिव केदारबहादुर अधिकारी र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह समेत बाहिरै मन्त्रीसँगै बसेका थिए।
काठमाडौंको सोल्टी क्राउन प्लाजा होटलमा आयोजित सम्मेलनमा विभिन्न देशका विशिष्ट पाहुनासँगै नेपालका भीआईपीहरु कुर्सीमा बसिरहेका थिए । त्यसमा अर्थमन्त्री युवराज खतिवडा पनि सहभागी थिए । तर मन्त्री यादवलाई बस्नको लागि कुर्सीको नै व्यवस्था गरिएको थिएन ।
दुई वर्षअघि भएको लगानी सम्मेलन उद्योगमन्त्रीकै संयोजकत्वमा भएको थियो। तर अहिलेको लगानी सम्मेलन अर्थमन्त्री डा. युवराज खतिवडाले नेतृत्व गरिरहेका छन्। यो सम्मेलनमा अर्थमन्त्रालय र लगानी बोर्डलेनै सबै भूमिका निभाइरहेका छन्। मन्त्री यादवले आफुलाई बाईपास गर्न खोजिएको भन्दै आपत्ति जनाए ।































प्रतिक्रिया