कृष्णसिंह धामी
काठमाडौं । यतिबेला नेपालमा नागरिकता सम्बन्धि विवाद अन्तिम बिन्दुमा पुगेको छ । समानताका आधारमा महिला पुरुषलाई नै समान मान्यता दिँदैं नागरिकता प्रदान गर्नुपर्ने विषय गम्भीर रुपमा उठेको हो । नेपालको संविधानले महिला पुरुषलाई समान अधिकार प्रदान गरेको छ । संविधानलाई नै आधार मानेर नागरिकता सम्बन्धी ऐन बन्दैंछ । जो अझै छलफलकै क्रममा छन् ।
यतिबेला फेरि अर्को विषयले प्रवेश पाएको छ । त्यो हो ‘विदेशी ज्वाईलाई नेपाली नागरिकता ।’ विशेषगरी केही मुलधारका मिडियाले यो विषयलाई उठान गरेका छन् । उनीहरुको प्रश्न के छ भने, ‘कुनै नेपाली पुरुषले विदेशी महिलासँग विवाह गरेमा विदेशी बुहारीले एक महिनामै अंगिकृत नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेर नेपालमै बस्दा किन नपाउने ?’ यसको अर्थ विदेशी ज्वाईलाई पनि नेपालमा बसोबास गरे विदेशी बुहारी जस्तै समान व्यवहार गर्नुपर्यो । के यस्तो गर्न नेपालमा तत्काल सम्भव छ ? र विश्वका अन्य देशमा नागरिकतासम्बन्धी व्यवस्था कस्तो छ ? आज यहि विषयमा चर्चा गर्दैछौं ।
भारतः
छिमेकी मुलुक भारतमा विवाह गरेको ७ वर्षमा अंगिकृत नागरिकता पाईन्छ । भारतीय नागरिकता अधिनियम १९५५ को सेक्सन ५(१) मा विवाह गरेको ७ वर्षमा अंगिकृत नागरिता पाउने उल्लेख गरिएको छ । पहिला पाचँ वर्ष थियो । पछि संशोधन गरेर ७ वर्ष पु¥याईएको हो । त्यसको लागि विभिन्न शर्तहरु अघि सारिएको छ । जसमा विदेशी नागरिकता त्यागेको, भारतमा बसोबास गरेको, विवाह दर्ता गराएको हुनुपर्नेछ ।
कुनै भारतीय पुरुषले विदेशी बुहारी भित्र्याएपनि ७ वर्षमा नै बुहारीलाई भारतीय नागरिकता प्रदान गर्ने व्यवस्था छ । त्यस्तै विदेशी ज्वाईलाई पनि ७ वर्षमै अंगिकृति नागरिकता पाईनेछ । निवेदन दिनुअघि १२ महिनासम्म र त्यसअघिको आठ वर्षको अवधिमा छ वर्ष भारतमा बसेको व्यक्तिले मात्र यस्तो आवेदन दिन सक्छ । वैवाहिक सम्बन्धका आधारमा नागरिकता प्रदान गर्ने मामिलामा भारत तुलनात्मक रूपमा वितगमा भन्दा कठोर बनेको देखिन्छ ।
चीनः
विशाल छिमेकी मुलुक चीनमा वैवाहिक सम्बन्धका आधारमा नागरिकता दिने विषयमा ऐन मौन छ । अङ्गीकृत नागरिकता त प्रदान गर्दछ तर वैवाहिक सम्बन्धका आधारमा नागरिकता प्रदान गर्ने विषयमा त्यहाँको ऐनले केही खुलाएको छैन् ।
त्यहाँको ऐनले चिनियाँ नागरिकसँग नजिकको सम्बन्ध रहेका, चीनमा नै बसोबास गरेका अथवा वैध कारण भएकालाई अङ्गीकृत नागरिकता दिनसक्ने व्यवस्था गरेको छ । तर विवाह गरेको आएका विदेशीको बारेमा केही उल्लेख गरिएको छैन् । चिनियाँसँग विवाह गरेको पाँच वर्षपछि ग्रिन कार्ड दिने व्यवस्था छ । तर नागरिकतानै पाउने कुरा उल्लेख गरिएको छैन् ।
अमेरिकाः
अमेरिकामा विवाह दर्ता गराएको पाँच वर्षपछि नागरिकता पाउने व्यवस्था छ । अमेरिकाको इमिग्रेसन एन्ड नेशन्यालिटी एक्टका अनुसार, अमेरिकी नागरिकसँग विवाह गरेका विदेशीका हकमा कम्तीमा ५ वर्ष अमेरिकाको स्थायी वासिन्दा भइसकेपछि बल्ल अङ्गीकृत नागरिकताका लागि आवेदन दिन योग्य हुन्छ । आवेदकले अमेरिकाका केही आधारभूत कुराबारे जानकारी राख्नैपर्छ । विशेषगरी ‘असल नैतिक चरित्र’ र ‘मानसिक रूपले स्वस्थ’ हुनुपर्ने सर्त समेत राखिन्छ ।
अन्य देशहरुमा कस्तो छ व्यवस्थाः
संयुक्त अधिराज्य बेलायतले वैवाहिक सम्बन्धका आधारमा अङ्गीकृत नागरिकता प्रदान गर्छ तर नागरिकताका लागि आवेदन दिनुपूर्व बेलायतमा तीन वर्ष बिताएको हुनुपर्छ । त्यस्तै जापानमा पनि कम्तीमा तीन वर्षपछि मात्रै अंगिकृत नागरिकता पाईन्छ । जापानी नागरिकसँग विवाह गरेको तीन वर्ष पूरा भएको भए कम्तीमा एक वर्ष लगातार जापानमा बस्नुपर्ने हुन्छ ।
त्यस्तै स्वीसमा विवाह गरेको कम्तीमा तीन वर्ष भएको र स्वीट्जरल्यान्डमा कम्तीमा पाँच वर्ष बसोबास गरेको व्यक्तिले अंगिकृत नागरिकताको लागि आवेदन दिन पाउँछ । यसका अतिरिक्त स्वीस जीवनशैलीसँग घुलमिल भए नभएको, स्वीस परम्परा तथा चालचलनसँग परिचित भए नभएको, स्वीस नियम कानुनको पालना गर्ने नगर्ने, र यसरी नागरिकता प्राप्त गर्न चाहेको व्यक्ति स्वीट्जरल्यान्डको आन्तरिक वा बाह्य सुरक्षाका लागि खतरापूर्ण रहे नरहेको हेर्ने व्यवस्था छ ।
डेनमार्कको व्यवस्था भने कडा छ । विवाह भएको तीन वर्ष पूरा भएको र पछिल्लो ६ वर्षदेखि लगातार डेनमार्कमा बसोबास गरेर आइरहेको व्यक्ति अङ्गीकृत नागरिकताका लागि योग्य हुन्छ । विवाह गरेको एक वर्ष मात्र भएको छ भने कम्तीमा आठ वर्ष त्यहाँ स्थायी बसोबास गरेको हुनुपर्छ । स्थायी बसोबासको क्रममा कुनै अपराधमा सजाय सुनाइएको छ भने त्यस्तो सजाय पाएको मितिबाट निश्चित अवधिसम्मका लागि नागरिकता प्राप्तिका लागि अयोग्य हुन्छ । यस्तो अवधि १८ वर्षसम्म पनि हुन्छ । कुनै कुनै मामिलामा त अङ्गीकृत नागरिकताका लागि अयोग्य नै हुन्छन् ।
दक्षिणी सुडान गणतन्त्रमा विदेशी महिलाले वैवाहिक सम्बन्धका आधारमा अङ्गीकृत नागरिकता पाउन कम्तीमा दुई वर्ष त्यहाँ बसोबास गर्नुपर्छ । एन्डोरा, अर्जेन्टिना, अस्ट्रिया, दक्षिण कोरिया, हंगेरी आदि मुलुकमा पनि दुईदेखि पाँच वर्ष सम्बन्धित मुलुकमा बिताएको हुनुपर्ने प्रावधान राखेका छन् । ब्रुनाईमा त्यहाँको पुरुषसँग विवाह गरेकी विदेशी महिलाले नागरिकताका लागि निवेदन दिन १० वर्ष कुर्नुपर्छ ।
त्यस्तै फ्रान्सलगायत केही मुलुकले विवाह गरेको निश्चित अवधि पुगेको वा श्रीमानसँग निश्चित समयदेखि बस्दै आएको हुनुपर्ने प्रावधान राखेको छ । मोल्डोभा, नर्वे, पोर्चुगल आदि मुलुकले विवाह गरेको तीनदेखि आठ वर्ष पूरा गरेकोले अंगिकृत नागरिकता पाउने प्रावधान छ ।































प्रतिक्रिया