कञ्चनपुर । निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई साढे १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिईएको छ । प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग लागेका पूर्व एसपी विष्टलाई जिल्ला अदालत कञ्चनपुरले साढे १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासमा भएको थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश भएको श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । आदेशमा यातना कसुरमा ६ लाख र प्रमाण नष्ट गरेकोमा ४ लाख ५० हजार धरौटी माग गरिएको श्रेष्तेदार अवस्थीको भनाई छ । उनीमाथि सार्वजनिक न्याय विरुद्व (प्रमाण नष्ट गरेको) र यातना कसुरको मुद्दा लागेको थियो।
अदालतले धरौटीमा छाड्न आदेश दिएको भन्दै रकम बुझाए धरौटीमा रिहा हुने र नबुझाए पुर्पक्षको लागि कारागार पठाइने श्रेष्तेदार अवस्थीको भनाई छ । बेलुका पाँच बजेसम्म धरौटी रकम बुझाउन नसकेन पूर्व एसपी विष्ट पुर्पक्षको लागि कारागारा जानेछन् । विष्ट श्रोतका अनुसार अहिलेसम्म पैसा जुट्न सकेको छैन् । चैत्र ८ गते विष्टलाई अभियोग लागेका दुईवटै मुद्दाको थुनछेक बहस सकिएको थियो।
सो दिन समय नभएपछि आइतबार मात्रै आदेश आएको हो। विष्ट चैत्र ५ गते अदालतमा उपस्थित भएपछि उनको बयान लिने काम भएको थियो । विष्टका तर्फबाट बरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र कृष्णदेव जोशीले बहस गरेका थिए। जाहेरी कर्ताका तर्फबाट भने सरकारी वकिल कार्यालयका न्यायधिवक्ता देवराज भारती, सहन्यायधिवक्ता मोहनीप्रसाद जोशी सहित अधिवक्ता बद्रिप्रसाद भुषाल, इन्द्र अर्याल, कल्याण पोखरेल, ओमप्रकाश सेन ठकुरीले बहस गरेका थिए।
कञ्चनपुर जिल्ला अदालतले फागुन २६ गते विष्टलाई ३५ दिनभित्रमा अदालतमा उपस्थित हुन म्याद जारी गरेको थियो। म्याद जारी भएको १० दिनमा विष्ट अदालतमा उपस्थित भएका थिए। अदालतले उपस्थित हुन म्याद जारी गरिएका निलम्बित सीआइबीका डीएसपी अंगुर जीसी भने अझै उपस्थित भएका छैनन्।
निर्मला हत्या प्रकरणमा सार्वजनिक न्याय विरुद्व प्रमाण (नष्ट गरेको) र यातना कसुरको मुद्दा लागेका ६ जना प्रहरी कर्मचारी भने यसअघि नै धरौटीमा रिहा भइसकेका छन्। गत पुस ३ गते निर्मला पन्तकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको आरोपमा सार्वजनिक न्यायविरुद्धको कसुरमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्टसहित आठ प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेकी थिइन्।
प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरेका भीमदत्त नगरपालिका १९ बागफाँटाका दिलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टले प्रहरी हिरासतमा अनुसन्धानका क्रममा भाइलाई यातना दिएको भन्दै प्रहरी प्रमुख विष्टसहित चार जनाविरुद्ध मुद्दा दायर गरेका थिए।
गत साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उनका हत्यारा अझै फेला पर्न सकेका छैनन् ।































प्रतिक्रिया