काठमाडौँ । मातृ तथा शिशु मृत्युदर सोचेअनुसार घट्न नसकेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति अन्तर्गत दिगो विकास उपसमितिले अयोजना गरेको छलफल कार्यक्रममा मातृशिशु मृत्युदर घटाउन नेपाली समाज र चेतना अनुसारका नमुना कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको कुरामा जोड दिएका हुन् ।
अहिले जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्था र भौगोलिक विकटताका कारण मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदरको तथ्याङ्क डरलाग्दो रहेको हुँदा यसलाई घटाउन नमुना खालका कार्यक्रम सञ्चालन गर्न सक्ने हो भने यो दरलाई दोहोर अंक हुँदै एकल अंकमा घटाउन सक्ने धारणा सरोकारवालाहरूको थियो ।
सरोकारवालाले मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदरलाई दोहोरो अंक हुँदै एकल अंकमा झार्ने गरी योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । यसअघिको तथ्याङ्कमा नेपालमा प्रत्येक एक लाख जीवित जन्ममा मातृ मृत्युदर २ सय ५८ रहेको थियो । त्यसलाई सन् २०३० सम्ममा घटाएर ७० मा झार्ने लक्ष्य लिइएको छ । त्यस्तै पाँच वर्षमुनिका बाल मृत्युदर नेपालमा ३९ रहेको छ । त्यसलाई पनि २० मा झार्ने लक्ष्य लिइएको छ । करिब ५० प्रतिशत स्थानीय तहले मातृमृत्युदर शून्यमा झार्ने प्रयास गरिरहेकोले त्यसलाई सबै स्थानीय तहमा लैजान पनि उनीहरूको जोड थियो ।
छलफलमा बोल्दै राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदर अहिले राज्यका लागि समेत चुनौती बनेको भन्दै केन्द्र, प्रदेश र स्थानीय तहको एकमुष्ट पहलमा घटाउनेतर्फ लाग्नुपर्नेमा जोड दिइन् । उनले मुख्य गरेर स्थानीय तहले स्वयंसेविकाहरूलाई थप सेवा–सुविधा दिएर परिचालन गर्न सकेको अवस्थामा प्रभावकारी कार्यान्वयन गरेर अघि बढ्न सहयोग पुग्ने बताइन् ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सभाले दिगो विकास लक्ष्याका विषयमा संकल्प प्रस्ताब नै पारित गरेको जानकारी दिँदै अहिले स्वास्थ्यका क्षेत्रमा भइरहेको यो नवीन खोज अनुसन्धानका माध्ययमबाट प्राप्त ज्ञान विश्वका लागि पनि उदाहरणीय बन्ने अपेक्षा गरेको बताइन् ।
दिगो विकास उपसमितिका संयोजक डा अन्जान शाक्यले दिगो विकास लक्ष्यका १७ बुँदामध्ये राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर ३ नम्बर बुँदामा रहेको उल्लेख गर्दै सबै उमेर समूहका व्यक्तिका लागि स्वास्थ्य जीवनको सुनिश्चितता गर्दै समृद्ध जीवनस्तर प्रवर्द्धन गर्ने कुरामा हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले यस्ता विषयमा केन्द्रित भएर समितिले छलफल अघि बढाएको पनि उल्लेख गरे ।
त्यसैगरी समितिका सदस्य बामदेव गौतमले मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदर घटाउने हो भने आर्थिक अभाव भएका परिवारलाई कम्तिमा तीन वर्षसम्म आमा र बच्चा दुबैको स्वाथ्य र आर्थिक पाटो राज्यले बेहोर्ने नीति ल्याउनुपर्नेमा जोड दिए । समितिका सदस्य सावित्रा मल्लले सबै स्थानीय तहले ‘गर्भवती महिलासँग जनप्रतिनिधिसँग भेटघाट’ कार्यक्रम ल्याई त्यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
समितिका सचिव रोजनाथ पाण्डेले लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा नमूनाका रूपमा मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदर ‘डिजिटलाइजेशन’मार्फत घटाउने परियोजना नमूना सफल भएमा अन्य जिल्ला र प्रदेशमा पनि सञ्चालन गर्न सकिने र दिगो विकास लक्ष्यका लागि यो प्रभावकारी हुने उल्लेख गरे ।































प्रतिक्रिया