काठमाडौँ
पछिल्लो मर्यादाक्रमप्रति नेपाली सेना असन्तुष्ट भएको छ । गृह मन्त्रालयले सेनाको अधिकृत तहलाई अन्य सुरक्षा निकायका अधिकृत र निजामती अधिकृत भन्दा तल राखेर नयाँ मर्यादाक्रम जारी गर्न लागेपछि सेनाले असन्तुष्टि जनाएको हो ।
प्रस्तावित मर्यादाक्रममा नेपाल प्रहरीको निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत भन्दा उपसेनानी पछाडि छन् । सहसेनानीलाई सरकारको शाखा अधिकृत एवं तृतीय श्रेणी वा सो सरहको अधिकृत भन्दा तल राखिएको छ । यसले गर्दा विपत् व्यवस्थापन तथा अन्य सहकार्यमा संयुक्त फौज परिचालनमा असहज हुने सेनाको ठहर छ । सेनाले सरकार समक्ष मर्यादाक्रममा सेनालाई तल पार्नुको कारण सोधेको छ । सैन्य अनुशासनमा बसेर अध्ययन गरेकालाई पछाडि पार्न नमिल्ने तर्क नेपाली सेनाको छ ।
इन्टरमिडियट उत्तीर्ण गरेपछि सेकेन्ड लेफ्टिनेन्ट (सहायक सेनानी) मा प्रतिस्पर्धा गर्न पाइन्छ । त्यसरी प्रवेश गरेका सेनाले भित्रै पढ्न र सैनिक तालिम लिन पाउँछन् । तर नेपाल प्रहरी वा सशस्त्रको निरीक्षकमा जागिर खान स्नातक उत्तीर्ण गर्नैपर्छ । त्यसैले प्रहरी निरीक्षकलाई मर्यादाक्रममा माथि राखिएको गृह मन्त्रालयका अधिकारीहरूले बताए । नेपाल सरकारका अधिकृत पनि स्नातक गरेर मात्र सेवा प्रवेश गर्छन् ।
सैनिक प्रवक्ता यामप्रसाद ढकालले मर्यादाक्रममा केही परिवर्तन भएको भन्ने जानकारी पाएपछि रक्षा मन्त्रालय मार्फत जिज्ञासा राख्ने तयारी गरेको बताए । ‘पुरानो मर्यादाक्रम ठिकै थियो । त्यसलाई चलाएको हो भने हाम्रो नेतृत्वले पक्कै छलफल गर्नुहोला । यस विषयमा म बुझेर मात्र खबर गर्न सक्छु ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया