काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाका लागि आवेदन आजदेखि खुलेको छ । भाषा परीक्षाका लागि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ ।
१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन भर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अरु देशमा जान रोक नलगाएका र कोरियामा ई–९÷ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन भर्न सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।
आवेदन अनलाईन मार्फत भर्न सकिने व्यवस्था गरिएको छ । परीक्षा आवेदन फारम ईपीएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्नेछ ।
कोरियाली भाषा परीक्षा आउँदो जेठ २५ र २६ गते काठमाडौं र पोखरा केन्द्रबाट सञ्चालन हुनेछ । अनलाइनबाटै फारम भर्न सकिने भए पनि आवदेन भर्नका लागि रातिदेखि नै आवदेकको भिड लागेको छ । अनलाईन आवेदन दिँदा पोखराबाट पहिलो १२ हजार जनाले फारम भर्न पाउनेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।
परीक्षा शुल्क २४ अमेरिकी डलर तोकिएको छ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको (कमलादी कर्पोरेट शाखाबाहेक) जुनसुकै शाखा र आइएमई–पे तथा ई–सेवामार्फत बुझाउन सकिनेछ ।































प्रतिक्रिया