काठमाडौं
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली सुन देखाई ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले नक्कली सुनलाई सक्कली भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने नुवाकोटका ३८ वर्षीय मसा तामाङ, ३१ वर्षीय बुद्धिमान तामाङ, २६ वर्षीय राउसिंह तामाङ, २८ वर्षीय मङ्गले तामाङ, गोरखाका ३९ वर्षीय कुशल अधिकारी र ३२ वर्षीय गोविन्द पोखरेललाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुदीप गिरीले विभिन्न व्यक्तिलाई सस्तो मूल्यमा सुन दिलाई दिने भनी ठगी गर्नेलाई दुई थान नक्कली सुन र एक हजार दरका पाँच थान नक्कली नोटसहित पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुले सङ्गठित गिरोह खडा गरी ठगी गर्ने र एउटा समूहलाई ठगी गरेपछि प्रयोग भएको सिमकार्ड र मोबाइल बन्द गर्ने गरेको तथा ठगी गरेको रकम भूमिकाका आधारमा भागबण्डा गरी लिने गरेको अनुसन्धानमा खुलेको प्रवक्ता गिरीले बताउनुभयो । पक्राउ परेकालाई ठगी एवं खोटाचलन कसुरमा काठमाडौँ जिल्ला अदालतमा म्याद थप लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
एक किलो अफिमसहित एकजना पक्राउ
यता पर्सा जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको गण्डक चोकबाट प्रतिबन्धित लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–४ का ५४ वर्षीय बसिर मियाँ रहेका छन् । उनको साथबाट एक किलो परिमाणको अफिम बरामद भएको थियो ।
वीरगञ्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेका मियाँलाई गण्डकमा जाँच गर्दा शरीरमा लुकाई–छिपाई राखेको अफिम बरामद गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर लागुऔषध सम्बन्धि मुद्दा चलाउने तयारी गरिएको छ ।
रासस





























प्रतिक्रिया