सिरहा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोलबजार नगर कमिटीले गोलबजार नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि मालपोत लगायतका अन्य करको दरमा अत्यधिक वृद्धि गरेको विरोधमा ज्ञापन पत्र बुझाइएको हो । पार्टीद्वारा तयार ज्ञापन पत्रमा भनिएको छ, ‘गोलबजार नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नगरसभाले पारित गरेको जग्गामा लाग्ने मालपोत (कर) वृद्धि र भूमि वर्गिकरण प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।’
कृषक र कृषि क्षेत्रलाई अनुदान र आधुनिकीकरण गर्न टेवा पुर्याउँदै आत्मनिर्भर बनाउनुपर्नेमा कृषकको ढाड सेक्ने र कृषि व्यवसायलाई धरासायी बनाउने नगरपालिकाको नीति तथा कार्यक्रमप्रति पार्टीले खेद प्रकट गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्रमा उल्लिखित भए अनुसार गोलबजार नगरपालिका आफैंमा विविधतापूर्ण कृषि क्षेत्र हो भन्दै यो तरकारी, फलफूल, धान, मकै, दलहन, तेलहन लगायतका बालि उत्पादन हुने क्षेत्र हो । नगरले यस क्षेत्रको विकासमा टेवा पुग्ने गरी नीति, कार्यक्रम तथा योजनाहरु तर्जुमा गर्नुपर्नेमा सामन्ती जमिन्दारी प्रथाको मालपोत भन्दा पनि चर्को कर निर्धारणले यहाँको सरकार आम जनताप्रति अनुत्तरदायी रहेको प्रमाणित गरेको छ सो पार्टीले आरोप लगाएको छ ।
पार्टीले ज्ञापन पत्रमार्फत आर्थिक वर्ष २०८१/०८२ मा वृद्धि गरिएको मालपोत (भूमि कर) एक हप्ता (७ दिन) भित्र खारेज गरी जग्गाको वर्गीकरण र मूल्यांकन वैज्ञानिक ढङ्गले गर्न माग गरिएको छ । अन्यथा विभिन्न चरणका संघर्षका कार्यक्रमहरु घोषणा गर्न वाध्य हुने भन्दै अल्टिमेटम दिएको छ ।
पत्रकारहरुको जिज्ञाशामा उत्तर दिंदै नेता प्रवेश लामाले भने,‘जनताको प्रत्यक्ष जीवन र सरोकारसँग गाँसिएको सवाल कर हो । करको दायरा बढाउने हो । करको दर बढाएर जनताको शोषण गर्ने होइन । अहिले बढाइएको कर अत्याचारी कदम हो । हामी यसमा संघर्ष गर्छाैं ।’































प्रतिक्रिया