घनश्याम विश्वकर्मा ग्लोकल टीन हिरो नेपाल २०२४ उपाधिबाट सम्मानित

घनश्याम विश्वकर्मा ग्लोकल टीन हिरो नेपाल २०२४ उपाधिबाट सम्मानित

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । ग्लोकल प्रालिद्वारा आयोजित “गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो २०२४”बाट रुकुमका १९ वर्षीय घनश्याम विश्वकर्मा सम्मानित भएका छन् ।

ग्लोकल टिन हिरोले विगत दशकदेखि विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने किशोरकिशोरीहरुलाई सम्मानित गर्दै आएको छ, जसले समुदायमा महत्वपूर्ण योगदान दिएका छन्। ग्लोकल टिन हिरो नेपालले किशोरकिशोरीहरूको सृजनात्मकता, उत्साह र योगदानलाई गहिरो रूपमा कदर गर्दै उनीहरूलाई ग्लोबल र लोकल डोमेनमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गर्ने लक्ष्य राखेको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवं अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा आइतबार साँझ द् सोल्टी होटलमा आयोजित कार्यक्रममा ग्लोकल टीन हिरो नेपाल, २०२४ को घोषणा गरिएको हो। कार्यक्रममा श्रममन्त्री शरतसिंह भण्डारी प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी कपिलवस्तुका आशिष पन्थी, प्राविधिक शिक्षक, स्याङ्जाका निश्चल भट्टराई, शैक्षिक कार्यकर्ता, झापाकी पूर्णिमा तिम्सिना, बाल अधिकार कार्यकर्ता, कास्कीकी सजनी शर्मा, सामाजिक कार्यकर्ता र पर्साका श्रीजय सुवेदी, प्राविधिक उत्साही बीच ग्लोकल टीन हिरो चयन गरिएको थियो ।

घनश्याम विश्वकर्मा एक सामाजिक कार्यकर्ता हुन्, जो रुकुमबाट बालबालिका र किशोरकिशोरीहरूको अधिकार र भलाइका लागि आठ वर्षभन्दा बढी समयदेखि अभियान चलाउँदै आएका छन्। बाल अधिकार, मानसिक स्वास्थ्य, जलवायु र बाल विवाहको विरुद्धको संघर्षमा उनको समर्पणले समाजमा महत्वपूर्ण प्रभाव पारेको छ। राष्ट्रिय किशोरकिशोरी बाल नेटवर्क नेपालका अध्यक्षको रूपमा, उनी बाल अधिकारको वकालतलाई अगाडि बढाउन प्रतिबद्ध छन्। उनी विभिन्न संघ–संगठनहरूसँग सहकार्य गर्दै यौन र प्रजनन अधिकार, मानसिक स्वास्थ्य, जलवायु न्याय, र अनलाइन सुरक्षा जस्ता महत्वपूर्ण मुद्दाहरूको सम्बोधन गर्छन्।

उनले बाल यौन शोषण विरुद्धको संघर्ष र रिपोर्टिङ प्रणालीलाई सुदृढ पार्न शैक्षिक कार्यशालाहरूको नेतृत्व गर्छन्, जसले युवाहरूलाई आफैंलाई र आफ्ना साथीहरूलाई सुरक्षित राख्न सशक्त बनाउँछ। जलवायु न्यायका लागि अभियन्ताको रूपमा, उनी बालबालिकाको स्वस्थ वातावरणमा अधिकारको बारेमा कार्यशालाहरू आयोजना गर्छन्, जसले भविष्यका पुस्ताहरूको सुरक्षा सुनिश्चित गर्न वातावरणीय दिगोपनाको महत्त्वलाई जोड दिन्छ।

घनश्यामले बाल अधिकार अभियन्ताका रूपमा गरेको कामले समाजमा ठूलो प्रभाव पारेको छ, जसले बालबालिकालाई सशक्त बनाएको, सचेतना बढाएको, र नीति परिवर्तनहरूलाई प्रभाव पारेको छ। उनले बाल यौन शोषण र जलवायु न्यायका विषयमा सञ्चालन गरेको शैक्षिक कार्यशालाहरूले युवाहरूलाई आफ्ना अधिकार र भलाइको वकालत गर्न आवश्यक ज्ञान र उपकरणहरू प्रदान गरेको छ ।

उनका प्रतिभा प्रदर्शनीहरूले बालबालिकालाई आफ्नो सिर्जनात्मकता व्यक्त गर्न, आत्मविश्वास निर्माण गर्न, र आफ्ना आवाजहरू विकास गर्न मञ्चहरू प्रदान गर्छन्। उनले बाल अधिकार, बाल विवाह, मानसिक स्वास्थ्य, र अनलाइन सुरक्षाका बारेमा सचेतना जगाउन रेडियो सानोभेरी एफ।एम।मा बाल चौतारी कार्यक्रमको संचालन गर्छन्।

कोभिड–१९ महामारीको समयमा, उनले बालबालिका र परिवारहरूको सुरक्षा गर्नका लागि महत्वपूर्ण जानकारीहरू प्रसारणमा महत्वपूर्ण भूमिका खेले, जसले उनीहरूलाई आवश्यक स्रोतहरू र समर्थनहरू उपलब्ध गरायो। उनका सरकारी र गैर–सरकारी संघ–संगठनहरूसँगका सहकार्यहरूले बाल संरक्षण नीतिहरूलाई प्रभावित पारेका छन्, जसमा अनलाइन बाल यौन शोषणको उन्मूलनको प्रयासहरू पनि समावेश छन्।

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको उत्कृष्ट ६ फाइनलिस्टहरूलाई उनीहरूको उपलब्धि, पहल, योगदान र कामको प्रभावको आधारमा अन्तिम चरणका लागि छानिएको थियो।

यस वर्षको निर्णायक टोलीमा एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजका डाइरेक्टर आशिष तिवारी, कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया, डब्लु डब्लु यफ का कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, नेपालका लागि युएन वुमनकी प्रतिनिधि, प्याट्रिसिया फर्नान्डेज पाचेको, गोल्छा ग्रुपकी डाइरेक्टर सीमा गोल्छा, तथा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो रहेका थिए ।

Logo