राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ।
राजपाले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद चल्न नदिने अडान बताउदै आएको छ ।
यसअघि आइतबार बसेको प्रतिनिधिसभाको बैठक पनि राजपाले अवरुद्ध गरेको थियो। आइतबार राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले लाल प्रतिवेदन सार्वजनिक नभएसम्म सदनको कामकारवाही अगाडि बढ्न नसक्ने जानकारी दिएका थिए । आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा सांसद रेशम चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय भएको राजपाको बुझाई छ। नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र मुख्य सचेतक देव गुरुङले सहमतिका लागि राजपा नेताहरुसँगको छलफल जारी राखेका छन्।
आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक सम्बन्धी समितिको प्रतिवेदन सहित प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास सम्बन्धी विधेयक, प्रहरी समायोजन विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक र भूमि सम्बन्धी आठौं संशोधन विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ ।































प्रतिक्रिया