काठमाडौँ । यूईएफए नेसन्स लिग फुटबलमा इटालीले फ्रान्समाथि उत्कृष्ट जित निकालेको छ । फ्रान्सको पार्क दे प्रिंसेसमा १३ सेकेण्डमै १ गोलले पछाडि परेको इटालीले फ्रान्सलाई ३–१ गोलको उत्कृष्ट कमब्याक जीत निकालेको हो ।
फ्रान्सका ब्राडली बारकोलाले १३ सेकेण्डमै गोल गर्दै घरेलु टोलीलाई सुरुमै अग्रता दिलाएका थिए । सेन्टरबाट बल चलेपछि बारकोलाले इटालीका डिफेन्डरबाट बल खोसेर सिधै पोस्ट चार्ज गर्दा गोल भएको थियो । तर खेलको ३० औँ मिनेटमा इटालीका फेडरिको डिमार्कोले बराबरी गोल गरेका थिए ।
इटालीका सान्ड्रो तोनालीको पासमा डिमार्कोले प्रहार गर्दै बराबरी गोल गरेका थिए । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको खेलमा बाँकी २ गोल इटालीले दोस्रो हाफमा गरेको हो ।
दोस्रो हाफको ५० औँ मिनेटमा डेभिड फ्राटेस्सी मेटाओ रेटेगुइको पासमा उत्कृष्ट गोल गर्दै इटालीलाई २–१ ले अघि बढाए । ७४ औँ मिनेटमा डेस्टिनी उडोगीले दिएको पासमा गियाकोमो रसपाडोरीले गोल गरेपछि इटालीले फ्रान्समाथि ३–१ को उत्कृष्ट कमब्याक गोल गरेको थियो । जितपछि नेसन्स लिगको पहिलो खेलमै इटालीले ३ अंक लिन सफल भयो ।
यही समूहमा रहेको बेल्जिमयमले इजरायललाई पनि ३–१ गोल अन्तरले पराजित गरेको छ । बेल्जियमको जितमा केभिन डी ब्रुएनाले २ गोल गर्दा योरे टेलिम्यान्सले १ गोल फर्काएका थिए । इजरायलको नाउँमा रहेको एक गोल उपहार रह्यो । समूह बीमा इटाली शीर्ष स्थानमा रहँदा बेल्जियम दोस्रो स्थानमा रहेको छ ।































प्रतिक्रिया